काठमाडौं । दक्षिण अफ्रीकाका अन्तर्राष्ट्रिय क्रिकेटर रिचर्ड लेभीले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा ओपनर लेभीले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले आइतबार प्रेस बिज्ञप्ति निकाल्दै लेभीलाई अनुबन्ध गरेको जनाएको छ ।
पोखराले यसअघि स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जर र इंग्ल्यान्डका पाउल कोघ्लिनलाई अनुबन्ध गरेको थियो । यस्तै पोखराले मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरिसकेको छ ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार पोखराले लेभीलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।
लेभी ईपीएल खेल्न आउने खेलाडीमध्ये सबै भन्दा ठुलो नाम हो । दक्षिण अफ्रीकाबाट टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका लेभीले इन्डियन प्रिमियर लिग समेत खेलिसकेका छन् ।
लेभीले दक्षिण अफ्रिकाबाट १३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले मुम्बई इन्डियन्सबाट आइपीएल खेलिसकेका छन्।
लेभी टी-ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीमा पर्छन् । उनले ४५ बलमा ११७ रन बनाएका उक्त कीर्तिमान बनाएका थिए । तर, अहिले उक्त कीर्तिमान क्रिस गेलको नाममा रहेको छ ।