काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत तेस्रो खेलमा आज (आइतबार) राजपुट्ससंग प्रतिस्पर्धा गर्दैछ ।
सारजाहमा हुने केरला र राजपुट्सबीचको खेल नेपाली समय अनुसार बेलुका ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
साविकको विजेता समेत रहेको केरला दोस्रो जितको खोजीमा हुनेछ। यस्तै राजपुट्स पनि दोस्रो जितको खोजीमा हुनेछ ।
केरलाले पहिलो खेलमा पख्तुनलाई ८ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा भने कराँचीयन्स (सिन्धिस) संग ९ विकेटले पराजित भएको थियो ।
२ खेलबाट २ अंक जोडेर केरला लिगको तेस्रो स्थानमा छ । राजपुट्स २ खेलबाट २ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।
सन्दीप आजको खेलमा समेत मैदान उत्रन सक्ने सम्भावना रहेको छ । किनकि पहिलो र दोस्रो खेलमा किफायती बलिङ गर्दै सन्दीपले राम्रो छाप छाड्न सफल भएका छन् ।
पहिलो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए ।
दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए । सन्दीपले २ खेलबाट ४ विकेट लिईसकेका छन् ।