एजेन्सी । इटालियन सिरी 'ए' अन्तर्गत आज (शनिबार) लिग लिडर युभेन्ट्सले सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) संग प्रतिस्पर्धा गर्दैछ ।
साविकको विजेता समेत रहेको युभेन्ट्सले घरेलु मैदानमा एसपीएएलसंग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०:४५ मा सुरु हुनेछ ।
तुलनात्मक कमजोर टिम एसपीएएलविरुद्ध मैदान उत्रदा युभेन्ट्स अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । जसका लागि युभेन्ट्सलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, मारियो मान्डुज्की, पाउल डिबाला जस्ता खेलाडीहरुको साथ रहेको छ ।
पछिल्लो समयमा लयमा रहेका रोनाल्डो एसपीएएलविरुद्ध पनि चम्कने विश्वास गरिएको छ । दुईसाता अघि एसी मिलानविरुद्ध समेत रोनाल्डोले गोल गरेका थिए ।
लिगमा युभेन्ट्सले १२ खेलमा ११ जित र १ बराबरीसहित ३४ अंक जोडेको छ । र, लिगमा ६ अंकले अघि रहदै शीर्ष स्थानमा छ ।
यता, एसपीएएल भने युभेन्ट्सलाई स्तब्ध बनाउने योजनामा हुनेछ । एसपीएएल १२ खेलबाट १३ अंक जोडेर लिगको १५ औं स्थानमा छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा उडिनेसले रोमाको सामना गर्दैछ । रोमा लिगको छैटौं स्थानमा छ । उडिनेस रेलिगेसन जोनमा रहेको छ ।