एजेन्सी । केहि साताको विश्रामपछि इन्ग्लिश प्रिमियर फुटबल आज (शनिबार) बाट पुनः सुचारु हुँदैछ । युईएफए नेसन्स कप र मैत्रीपूर्ण खेलको कारण रोकिएको प्रिमियर लिग अन्तर्गत आज विभिन्न सात खेलहरु संचालन हुँदैछ ।
लिग अन्तर्गत आज शीर्ष तथा ठुला क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् । आज हुने खेलमा म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
साविकको विजेता तथा लिग लिडर सिटीले आज वेष्ट ह्याम युनाइटेडसंग उसैको मैदानमा खेल्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ८:४५ मा सुरु हुनेछ ।
वेष्ट ह्यामविरुद्ध मैदान उत्रदा सिटी आफ्नो शीर्ष यात्रालाई कायम राख्न चाहन्छ । अपराजित सिटीले १२ खेलमा ३२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । १२ अंक जोडेको वेष्ट ह्याम सिटीलाई घरेलु मैदानमा स्तब्ध बनाउने लक्ष्यमा हुनेछ ।
लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले वाट्फोर्डसंग उसैको मैदानमा खेल्दैछ । वाट्फोर्ड र लिभरपुलबीचको खेल नेपाली समय अनुसार राति ८:४५ मै हुनेछ ।
आज लिभरपुल वाट्फोर्डलाई हराएर अंक तालिकामा सिटीलाई दबाबमा राख्न चाहन्छ । लिभरपुलले १२ खेलबाट ३० अंक जोडेको छ । २० अंक जोडेको वाट्फोर्ड लिभरपुललाई रोक्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।
लिग अन्तर्गत नै चेल्सीले टोटेनहमसंग प्रतिस्पर्धा गर्दैछ । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ ।
आज दुवै टोली जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । चेल्सी १२ खेलबाट २८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । यस्तै टोटेनहम २७ अंक जोडेर चौथो स्थानमा छ ।
यस्तै म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा क्रिष्टल प्यालेससंग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ मा हुनेछ ।
यस सिजन खराब लयमा रहेको युनाइटेड क्रिष्टललाई पराजित गर्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । युनाइटेड २० अंक जोडेर लिगको आठौं स्थानमा छ । क्रिष्टल ८ अंक जोडेर लिगको १६ औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै अन्य खेलमा ब्राइटनले लेष्टर सिटी, एभर्टनले कार्डिफ सिटी र फुलहमले साउथह्याम्पटनसंग खेल्नेछन् ।