काठमाडौं । थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब, घरेलु फुटबलका सबैभन्दा ठुला क्लब हुन् । दुवै क्लबको ईतिहास, संघर्ष र सफलताका बेग्ला बेग्लै कथाहरु छन् ।
स्पष्ट रुपमा भन्दा दुवै टोली नेपाली फुटबलका चिरप्रतिद्वन्दी क्लब हुन् । कारण, दुवै टोली जित्न मन पराउछन् । राष्ट्रिय टिमका खेलाडीले टिम भर्न चाहन्छन् । घरेलु प्रतियोगितामा आफ्नो बर्चस्व कायम राख्न चाहन्छन् ।
दुई मध्ये एक क्लब हुदैनथ्यो त, घरेलु फुटबलको रोमाञ्चकतामै पक्कै खल्लो हुने थियो, क्लबका प्रसंशकहरु यस्तै भन्छन् ।
दुवै उपत्यकाका क्लब हुन् । थ्री स्टार ललितपुरको रैथाने क्लब हो, मनाङको ईलाका ठमेल आसपास हो । घरेलु लिगमा जब दुवै टोली मैदान उत्रन्छन्, धेरै पटकथाहरु सतहमा आउछन् । त्यही पटकथाका एक मात्र मेघराज केसी हुन सक्छन् ।
सबैलाई थाहा छ, मेघराज यतिबेला थ्री स्टारका प्रशिक्षक छन् । घरेलु फुटबलका हाईप्रोफाईलका प्रशिक्षक मेघराज पछिल्ला केही बर्षयता थ्री स्टारको कमाण्ड समालेर बसेका छन् । ओपन सेक्रेट के हो भने, मेघराजले पहिलो पटक थ्री स्टार हेरेका होईनन् । उनले ६६ सालमा समेत थ्री स्टारको कमाण्ड समालेका थिए ।
जब थ्री स्टार र मनाङ मैदानमा उत्रन्छन्, एउटा तथ्य बाहिर आउछ । थ्री स्टारको प्रशिक्षकको रुपमा मेघराजले अहिलेसम्म मनाङविरुद्वको खेल गुमाएका छैनन् ।
बिस २०६६ सालमा मनाङले थ्री स्टारका प्रशिक्षक बालगोपाल महर्जन सहित राष्ट्रिय टिमका सबै खेलाडीलाई अनुबन्धन गरेको थियो । प्रतिकुल अवस्थामा थ्री स्टारको नेतृत्व गर्न पुगेका थिए, मेघराज । उनै मेघराजले केही पुराना र युवा खेलाडीलाई समावेश गर्दै थ्री स्टारको पुर्नसंरचना गरेका थिए । त्यो सिजन राष्ट्रिय टिमले भरिएको मनाङलाई थ्री स्टारले एक पछि अर्को खेलमा पराजित गरेको थियो ।
ब्रिटिस गोर्खा कपबाट मनाङलाई हराउन सुरु गरेको थ्री स्टारले आहा रारा गोल्डकप हुँदै बुढासुब्बा गोल्डकपसम्म आफ्नो लयलाई कायम राखेको थियो । त्यसपछि खेलिएका सबै खेलमा मेघराज, मनाङसंग अपराजित रहे । फेरी एक पटक आज बिहिबार सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलमा थ्री स्टार र मनाङ भिड्दैछन् ।
थ्री स्टारको नेतृत्वमा उनै मेघराज छन् । प्रश्न छ, के थ्री स्टारका प्रशिक्षक मेघराजलाई मनाङले हराउँन सक्ला ? मनाङ आफै खेलाडीको चोटका कारण समस्यामा छ ।
कप्तान सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीको अभाव पक्कै मिडफिल्डमा खट्किनेछ । दोहोरो पहेलो कार्डको कारण स्ट्राईकर ओलावाले अफिजले थ्री स्टारविरुद्वको खेल गुमाउनेछन् ।
यस्तो अवस्थामा मनाङले फेरी एक पटक मेघराजले नेतृत्व गरेको थ्री स्टारसंग भिड्दैछ । यस्तोमा मेघराजविरुद्व मनाङको प्रर्दशन कस्तो होला ? धेरै प्रश्नको उत्तर एन्फा कम्प्लेक्सको मैदानबाट आज निस्कनेछ ।