काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले अफ्रिकन डिफेन्डर भिक्टोरलाई क्लबमा भित्र्याएको छ । कमजोर देखिएको डिफेन्स लाईनलाई सुधार गर्न मनाङले विदेशी खेलाडीलाई क्लबमा अनुबन्धन गरेको हो ।
मनाङका महासचिव मुखिया लामाले डिफेन्स लाईनलाई सुधार गर्न भिक्टोरलाई क्लबमा अनुबन्धन गरिएको बताए । तर भिक्टोरले बिहिबार हुने बहुप्रतिक्षित थ्री स्टारविरुद्वको खेल भने गुमाउनेछन् ।
कागजी प्रक्रिया नमिलेका कारण थ्री स्टारविरुद्वको खेलमा उनी अनुपस्थित रहने महासचिव लामाले बताए । उनलाई लिग अवधिभर क्लबमा अनुबन्धन गरिएको लामाले प्रस्ट पारेका छन् ।
भिक्टोरले मनाङको जर्सीमा भारतको सिक्किमा गभर्नस गोल्डकप खेलेका थिए ।
भिक्टोरले डिफेन्डर विमल बस्नेतको स्थान लिनेछन् । बस्नेत यतिबेला व्यवसायीक फुटबल खेल्न अष्ट्रेलिया पुगेका छन् ।
पछिल्लो अनुबन्धनसंगै मनाङले ४ वटा विदेशी खेलाडीको कोटा पुरा गरेको छ । उसले विदेशी कोटामा ओलावाले अफिज र एडिलाजालाई क्लबमा ल्याएको थियो ।
दक्षिण एसियाली कोटाबाट भारतीय खेलाडी मुहमेद असिफलाई क्लबमा भित्र्याएको छ । चोटका कारण सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीलाई गुमाएको मनाङलाई पछिल्लो अनुबन्धनले केही राहत दिएको छ ।