काठमाडौं । नेपालले लगातार दोस्रो पटक आफ्नै भूमिमा दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता महिला साफ च्याम्पियनसिप आयोजना गर्दैछ । प्रतियोगितामा सहभागिता जनाउने विदेशी टोलीको आगमन सुरु भईसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ यहिँ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगिता सुरु हुन अब एक हप्ता मात्र बाँकी छ ।
साफले सार्वजनिक गरिसकेको समूह विभाजन अनुसार समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।
हरेक संस्करण झैँ नेपालले यस पटक पनि उपाधि दाबेदारको 'ट्याग' लगाएको छ । महिला साफको १२ वर्षे इतिहासमा नेपालले यस ट्याग लगाउन थालेको छैटौं पटक भईसकेछ । तर, नेपालले अहिलेसम्म उपाधि चुम्न पाएको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । पाँचै पटक भारतले उपाधि जितेको छ ।
सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेन । त्यस वर्ष नेपालको 'साफको उपविजेता' को परिचय बंगलादेशले लग्यो । किनकि भारतसँग सेमिफाइनलमा नै भेट हुँदा नेपाल फाइनल पुग्न सकेको थिएन ।
पुरुष साफमा जस्तै नेपाललाई उपाधिबाट बिमुख गराउने टोली भारत नै हो । यो किन बारम्बार दोहोरिरहेको छ त ? पुरुष फुटबलमा त हामीसँग 'एक्सप्लेन' गर्नको लागि धेरै कारणहरु छन् । भारत र नेपालबीच तुलना हुनै सक्दैन । भारतविरुद्ध हामी मानसिक रुपमै हार्छौं, कहाँ भारतको स्तर कहाँ हाम्रो स्तर आदि इत्यादि धेरै । यति सुनिसक्यौं की अब त यी कारणहरु पनि 'ओल्ड स्कुल' लाग्न थालिसके । केहि नयाँ कारणहरु खोतलौं न । किनकि अरुको स्तर माथि गएको होइन हामीले हाम्रो स्तर नबढाएको हो।
सन् १९७० को मध्यदेखि १९८० को दशकको प्रारम्भमा भारतीय महिला टोली एसियाको उत्कृष्ट मध्ये एक थियो । उनीहरू १९७९ र १९८३ एएफसी महिला एसियाली कपमा उपविजेता समेत बनेका थिए । फिफा महिला विश्व वरीयता अनुसार ५७ औं वरीयतामा रहेको भारत अहिलेपनि एसियाको ११ औं सर्वश्रेष्ठ टोली हो । तर, इतिहास मात्र बलियो भएर जित सुनिश्चित हुदैन । अहिलेको भारतीय टोलीले पनि उतारचढाव देखेको छ ।
भारतीय महिला टोलीको ओरालो यात्रा जून २००९ मा सुरु भयो । फिफाले आफ्नो विश्व वरीयताबाट टोलीलाई हटाएको थियो । १९९१ देखि २०१० सम्म भारतीय टोलीको प्रदर्शन निकै खराब थियो । फिफा महिला विश्वकप र ओलम्पिकको सहभागिता अझै पनि भारतीय टोलीको लागि सपना नै छ । यी सबै तथ्य बाट बुझाउन के खोजिएको हो भने नेपालले पनि आफ्नो पूर्ण सक्षमता देखाउने हो भने इतिहासले, स्तरले प्रभाव पार्दैन आखिरमा ९० मिनेट मैदानमा जसले राम्रो प्रदर्शन गर्न सक्छ उसैले जित हासिल गर्ने हो । यसैपनि बिगतमा नेपालले हिरो कप प्रतियोगितामा भारतलाई उसकै भूमिमा पराजित गरिसकेको छ । विश्व फुटबलमा पनि अन्डरडग टोलीले टाइटल फेभरेटलाई मात दिएको धेरै उदाहरण छन् । नेपाल त झन् 'उपाधि दाबेदार' नै हो ।
मुख्य प्रशिक्षक कुमार थापा आफैमा लेजेण्ड खेलाडी हुन् । एपीएफको पुरुष टोली सम्हालिसकेको अनुभव छ । महिला टोलीलाई नजिकबाट चिनेका छन् । आशा छ उनीबाट । उनको यो पहिलो परिक्षा हो । यस पटक साफमा महिला टोलीको 'उपाधि खडेरी' को अन्त्य होला ? विगत १२ वर्षदेखि तिर्खाएको नेपालको उपाधि तिर्सना मेटिएला ?
यदि अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टोलीलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाएको भए सायद चार पटकको फाइनल भिडन्तमा एकपटक त भारतलाई पराजित गर्न सक्थ्यो नै । केहि कमजोरीहरु छन् जसलाई सुधार गर्न सके नेपालले यसपटक आफ्नो उपाधि सपना साकार पार्न सक्छ । हाम्रो लगानी, राज्यको प्राथमिकता, महिला फुटबलको दायरा, घरेलु फुटबलका संरचना, नियमित अभ्यास, खेलाडी उत्पादन, एन्फाको कमजोरी जस्ता तथ्यहरुका बारेमा नेपालमा सबै जानकार छन् । यी विषयमा घन्टौं बहस हुन सक्छ । तर अहिले यी सबैको लागि समय छैन । अहिले तत्काल आफैले परिवर्तन गर्न सकिने पाटोहरु मात्र हेरौं । तत्कालको लागि भएपनि सुरुआत गर्न सकिने आवश्यकताहरु औल्याउ ।
प्राविधिक पक्ष बलियो पार्ने -
हाम्रो फुटबलको प्राविधिक बुझाइ नै गलत छ । प्राविधिक ज्ञान पनि बाँडिएको पाइन्छ । केवल मुख्य प्रशिक्षकको प्राविधिक ज्ञानमै हरेक टोलीहरु भर पर्नु पर्ने बाध्यता छ । यो अभ्यास महिला फुटबलमा मात्र हैन नेपालको पुरुष फुटबलमा पनि लागु भईरहेको छ । खासगरी हाम्रो फुटबलले कुनै पनि फुटबल टोली तयार पार्नु अघि बलियो प्राविधिक टोली निर्माण गर्नुपर्छ भन्ने महत्व नै बुझेको छैन ।
फुटबलको प्राविधिक सुधारमा खेलाडीलाई 'ड्रीबल' कसरी गर्ने भन्ने सिकाउने मात्र हुँदैन । त्यो त खेलाडीले पहिलो दिन मोजाको बल्ल खेल्दा नै सिक्ने कुरा हो । बल कसरी क्लियर गर्ने भन्ने मात्र प्राविधिक ज्ञान होइन । डिफेन्डरलाई कसरी भर्सटायल बनाउने भन्ने कुरा प्राविधिक पाटोमा पर्छ ।
हाम्रो फुटबल टोलीमा अहिलेसम्म नियमित चीफ एनालिस्ट नियुक्त गरिएको खासै देखिदैन । जसले गर्दा खेलअघि विपक्षीहरूको विश्लेषण गर्न हामी चुकिरहेका हुन्छौं । विपक्षीले कसरी सेटअप गर्न सक्छन, ती पक्षहरू विरुद्ध कसरी प्रदर्शन गर्ने भन्ने बारे प्रशिक्षकलाई रिपोर्ट गर्ने काम एनालिस्ट को हुन्छ । प्रशिक्षकलाई आफ्नो टोलीले अघिल्ला खेलमा गरेको प्रदर्शनमा पूर्वव्यापी विश्लेषण गरेर कमजोरी औल्याउने जिम्मेवारीमा कोहि देखिदैन । आधुनिक फुटबलमा मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकलाई एक खेलबाट अर्को खेलमा के परिवर्तन गर्न आवश्यक छ वा आगामी खेलमा खेलाडीले के सुधार गर्न आवश्यक छ ? त्यो अनुसन्धानको लागि एनालिस्ट अपरिहार्य हो ।
उदाहरणका लागि भारतीय टोलीमा अहिले विराटनगरमा खेलेको साफ टोलीबाट लगभग सबै परिवर्तन भईसकेको छ । यद्दपी अन्जु तामाङ, स्वीटी देवि लगायतका खेलाडी बाँकी नै छन् । कोलकाता वुमन्स लिगमा एसएसबीलाई च्याम्पियन बनाएकी कप्तान डुलार मरान्दी पहिलो पटक राष्ट्रिय टोलीबाट साफ खेल्न नेपाल आउदै छिन् । इन्डियन वुमन्स लिगमा उनले ९ गोल गरि प्रतियोगितामा चौथो सर्वाधिक गोलकर्ता बनिन्। उनी नेपालको लागि खतरा बन्ने पक्का छ । उनको बारेमा अध्ययन गरेर उनको कमजोरी र बलियो पक्षको बारेमा अहिलेबाट नेपाली खेलाडीलाई सजक गराउन सकिन्छ ।
अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त हुनु अघि एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए । उनी अहिले पनि महिला फुटबल प्रशिक्षणमै छन् । उनले अहिले कुक आइसल्याण्ड राष्ट्रिय महिला टोलीको रेखदेख गरिरहेका छन् । उनी नेपाली टोलीको जिम्मेवारीमा थोरै समय रहे तर धेरै कुरा पत्ता लगाए ।
फिलिप्स भन्छन्, 'मैले नेपालमा रहँदा नेपाली महिला खेलाडी एकदमै मेहनत गर्न चाहने देखे । उनीहरु जुनसुकै बेला तयार रहन्थे । मानसिक रुपमा नेपाली महिला खेलाडी निकै बलियो छन् । तर केहि प्रवाधिक दक्षताको अभाव भने थियो । उनीहरु विशेषत सेटपिसमा अलि कमजोर छन् । उनीहरुको शारीरिक उचाई पनि एउटा कारण हो । तर भारत जस्ता टोलीसँग खेल्दा शारीरिक भाषा उत्कृष्ट राख्नु पर्छ । सेटपिस जस्तो अवस्थामा टोलीले एउटा रणनीति बनाएपनि मैदानमा त्यो निर्णय केवल खेलाडीकै हातमा हुन्छ । आवस्यकता अनुसार रणनीति खेलाडी आफैले तयार पार्नुपर्छ चाहे त्यो सेटपिस लिदा होस् या रक्षा गर्दा । यसमा उनीहरुलाई प्रशिक्षण गर्दा विशेष ध्यान दिनु पर्छ किनकि अधिकांश खेलाडी कुनै एकेडेमी अथवा प्रोग्रामबाट आएका हुदैनन् । राष्ट्रिय टोलीमा यो कुराको बिकास हुन्जेल ढिलो भैसक्छ । सेटपिस मात्र हैन पासिङ एक्युरेसी लगायतका धेरै कुरामा नेपालले सुधार गर्नुपर्छ ।'
डाइटमा गुणस्तर र स्टामिना-
नेपालमा कुनै पनि स्तरमा महिला फुटबल खेलाडीको पोषण र खानपिनका बारेमा थोरै जानकारी छ । खेलाडीहरूले अपनाउनुपर्ने पोषण र हाइड्रेशन रणनीतिको बारेमा जानकारीको पनि अभाव छ । सामान्यतया, पुरुष र महिलाहरूबीचको पोषण आवश्यकतामा भिन्नता हुन्छ । तर महत्वपुर्ण कुरा व्यक्ति बिशेष डाइट प्लान हुनु राम्रो हो । पुरुष खेलाडीको लागि बनाइएका पोषण योजना महिला खेलाडीमा पनि लागू हुन्छन् ।
अध्ययनले भन्छ कि लगभग दिनको ५ ग्राम कार्बोहाइड्रेट महिला खेलाडीले सेवन गर्नुपर्छ । प्रोटिनको सेवन उपभोगको मात्रा जत्तिकै महत्त्वपूर्ण हुन सक्छ, तर सेवन पर्याप्त छ । डिहाइड्रेसनले पुरुषमा जस्तै महिलामा सीप र सहनशक्तिलाई प्रतिकूल असर गर्छ, त्यसैले व्यक्तिगत सबै खेलाडीका लागि हाइड्रेशन रणनीति विकास गर्नुपर्छ । हाम्रो स्टामिनाको लेभल र पोषण योजनाले साउथ एसियामै पनि भारतविरुद्द त काम गर्दैन भने यो भन्दा माथिल्लो स्तरमा हामि कहिले जाने ? एन्फाले ध्यान दिनु आवश्यक छ ।
आफ्नो प्रशिक्षणमा प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर जस्ता खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएका ग्यारी फिलिप्स नेपालले पोषण कार्यक्रममा केहि हदसम्म अनुदारता देखाएको मान्छन ।
'मैले नेपालको टोलि हातमा लिँदा यस्ता खेलाडी पनि देखेँ जो अब ९० मिनेटका लागि योग्य थिएनन । उनीहरु लामो समयदेखि टोलीमा थिए तर वास्तविकता यस्तो थियो कि उनीहरुमा स्ट्रेन्थ र स्टामिना सकिसकेको थियो । त्यसैले मैले फ्रेश स्क्वाड तयार पार्न धेरै नयाँ खेलाडीलाई छनोट गरेँ । अचम्म के भने तिनै नयाँ खेलाडीको पनि स्ट्याण्डर्ड स्टामिना मैले पाइन । त्यसैले एउटा हाफ पछि धेरै खेलाडी परिवर्तन गर्नु बाध्यता हुन्थ्यो । त्यसो गर्दा खेलमा असर पर्छ,' फिलिप्स भन्छन् ।
प्रदर्शनमा एकरुपताको अभाव -
तपाइँ एउटा कुरा स्वीकार गर्नुस की नेपाली महिला फुटबलको इतिहासमै फरवार्डहरुले मात्र धेरै चर्चा पाएका छन् । यस्तो हुनुको कारण के होला ? कतिलाई अचम्म लाग्ला यो तर्कमा ।
नेपालका जमुना गुरुङ र अनु लामा जस्ता अग्रपङ्क्तिका खेलाडीहरू आफ्नो पालामा चर्चामा आए । त्यसपछिको लिगेसीलाई सावित्रा भण्डारीले 'साम्बा' ले अगाडी बढाइन । उनी त दक्षिण एसियाकै एक उत्कृष्ट स्ट्राइकरमा गनिन्छिन।
नेपाली खेलाडीलाई गोल गर्न समस्या होइन । गोल बचाउन समस्या देखिन्छ । तुलनात्मक रुपमा कुनै पनि नेपाली डिफेन्डरको चर्चा धेरै सुनिदैन । किनकि नेपालले डिफेन्डर त उत्पादन गर्यो तर 'क्यारेक्टर' निर्माण गर्न सकेन । फुटबलमा गोल गर्नु मात्र सबै होइन । हाम्रो फुटबलको संस्कार नै यहि छ । हामी गोलको पछाडी दौडिने प्रयास गर्छौं तर आफु क्षतविक्षत भईसकेको चाल पाउँदैनौ । फुटबलमा भनाई छ यदि ९० मिनेटसम्म गोल नै कन्सिड नगर्ने हो भने खेल जितिन्छ ।
पछिल्लो समय त्यो 'सेलिब्रेटी क्यारेक्टर' ट्रान्सफर भईरहेको छ । गोलकिपर र मिडफिल्डरहरुले लाइमलाइट लिएका छन् । सरु लिम्बु, रेनुका नगरकोटी, सबिता राना, एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर जस्ता नाम त्यसैको उदाहरण हुन् । उनीहरुमा भोक जाग्यो । मैदानमा अब्बल हुनुपर्छ भन्ने लाग्यो तब दर्शकले साथ दिए । अब यो ट्रान्सफर डिफेन्डरहरुसम्म पुग्नुपर्छ । त्यसको लागि बलियो र सोलिड डिफेन्स तयार गर्नुपर्छ । जसको प्रदर्शनले सबैको 'एटेन्सन' पावस र उनीहरुमा 'क्यारेक्टर' निर्माण होस् । यसले प्रदर्शनमा एकरुपता ल्याउन मद्दत हुनेछ ।
वैकल्पिक टोलीको अवधारणा अर्थात 'बी' टिम -
यो अवधारणा मान्यता मात्र होइन अब बाध्यता बनाइनुपर्छ । राष्ट्रिय टोलीको विकल्पमा 'रिजर्भ टिम' को निर्माण आधुनिक फुटबलको न्युनतम आवश्यकता भित्र पर्छ । तर नेपालले अहिले सम्म यसको महत्व बुझेको छैन । या त बुझ्न चाहेकै छैन । या त बुझेर पनि बुझ पचाइरहेको छ । फुटबलमात्र होइन समग्र खेलकुदको हबिगत यहि छ ।
उदाहरणको लागि गीता राना घाइते भईन यस्तो अवस्थामा हामीले कति खेलाडीलाई बिकल्पमा राखेर तयार पर्न सक्यौं त । पक्कै उनको स्थानमा अर्को खेलाडी खेल्ने नै छन् तर यदि 'बी टिम' नेपालसँग हुन्थ्यो भने निर्विकल्प हामीसँग भरपर्दो खेलाडी तयार हुन्थ्यो । मुख्य प्रशिक्ष कुमार थापालाई रिप्लेसमेन्ट खोज्न कति सकस भयो होला अनुमान गर्न सकिन्छ ।
एपीएफ क्लबले महिला फुटबल क्लबको स्थापना गरेर विसं २०६० पछि महिला फुटबलमा क्रान्ति ल्यायो । पछि त्यसैको सिको गर्दै अन्य दुई विभागीय टोली नेपाल पुलिस र नेपाली सेनाले पनि निरन्तरता दिए । हाल केहि प्रदेशमा राम्रा एकेडेमीबाट खेलाडी उत्पादन भईरहेका छन् । उत्कृष्ट खेल्ने खेलाडीको गन्तब्य विभाग नै छ । तर विभागमा टोलीमा पर्न तीव्र प्रतिस्पर्धा हुन्छ । यसैपनि नेपालमा महिला फुटबलको गतिबिधि शुन्य छ भन्दा हुन्छ । सम्भावना बोकेका राम्रा खेलाडी पनि बेन्चमै बस्नु पर्छ । अवसर नपाउँदा उनीहरु बिलाएर गएका पनि धेरै उदाहरण छन् । यदि 'बी टिम' अवधारणा हुन्थ्यो भने त्यस्ता खेलाडीले अवसर पाउने सक्थे ।