एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल पोल्याण्डसंग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा पोर्चुगल पोल्याण्डसंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित पोर्चुगल सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ३४ औं मिनेटमा आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ६३ औं मिनेटमा ड्यानियल पिरिराले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा समेटियो । जसको फाइदा पोल्याण्डले उठायो । खेलको ६६ औं मिनेटमा आर्काडीसुज मिलिकले पेनाल्टीमा गोल गर्दै पोल्याण्डलाई १ - १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन र खेल बराबरीमा रोकियो ।
पोल्याण्डविरुद्धको खेलमा स्टार स्ट्राइकर रोनाल्डो मैदान उत्रिएनन । रोनाल्डो पछिल्लो केहि खेलमा पोर्चुगलको टिममा रहेका छैनन् ।
बराबरीसंगै पोर्चुगलले लिग 'ए' को समूह ३ बाट ४ खेलबाट ८ अंक जोडेको छ । पोर्चुगल यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । २ अंक जोडेको पोल्याण्ड भने रेलिगेसनमा परेको छ ।