एजेन्सी । भेट्रान फरवार्ड तथा मिडफिल्डर टिम काहिलको विदाई खेलमा अष्ट्रेलियाले जित हासिल गरेको छ । मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाले लेबनानलाई ३ - ० ले हराएको हो ।
घरेलु मैदानमा अष्ट्रेलियालाई जित दिलाउन मार्टीन वोएलेले दुई गोल गरे । यस्तै म्याथ्यु लेकीले एक गोल थपे । लेबनानविरुद्धको जितसंगै अष्ट्रेलियाले आफ्ना कीर्तिमान गोलकर्ता काहिलको सुखद विदाई गरेको छ ।
लेबनानविरुद्धको विदाई खेलमा काहिल ८२ औं मिनेटमा मैदान उत्रिएका थिए । काहिल आरोन मोएको स्थानमा अष्ट्रेलियाका लागि अन्तिम खेल खेल्न मैदान उत्रिएका थिए ।
इन्ग्लिश क्लब एभर्टनका पुर्व खेलाडी ३८ बर्षीय काहिललाई खेलाडीहरुले गार्ड अफ अनर दिएका थिए ।
विदाई खेलमा निकै भावुक बनेका काहिलले खेलपछि बोल्दै अष्ट्रेलियाबाट खेल्न पाउदा आफुलाई गर्व महसुस भएको बताए । उनले अष्ट्रेलियाबाट खेल्दा आफुले सधै मनबाट खेलेको बताए ।
'जब मैले प्रत्येक समय हरियो र सुनौलो जर्सी लगाउथे । म हृदयबाटै खेल्थे । मैले कहिल्लै मैदान छाडिन,' काहिलले भने, 'धेरै धेरै धन्यवाद अष्ट्रेलिया ।'
काहिलले अष्ट्रेलियाका लागि १०८ खेल खेल्दै ५० गोल गरेका छन् । काहिल अष्ट्रेलियाका लागि विश्वकपमा पहिलो गोल गर्ने खेलाडी हुन् । उनले अष्ट्रेलियाबाट ३ विश्वकप खेलेका छन् र पाँच गोल गरेका छन् । उनले सन् २०१० को विश्वकपमा नेदरल्याण्डविरुद्ध उत्कृष्ट गोल गरेका थिए ।