काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग आगामी माघ अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिगको समाप्तिसंगै 'बी' डिभिजन लिग आयोजना गर्ने भएको हो ।
राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग माघ तेस्रो साता सकिदैछ । त्यस लगत्तै एन्फाले 'बी' डिभिजन लिग आयोजना गर्ने योजना बनाएको छ ।
'हामीले माघ अन्तिम साता 'बी' डिभिजन लिग गर्ने निर्णय गरेका छौं,' लिग कमिटिका निर्देशक सन्जिब मिश्रले खेलपाटीसंग भने, 'खेल सुरु हुने मितिबारे र अन्य कुराहरु छलफलपछि तय हुनेछ ।'
निर्देशक मिश्रका अनुसार एन्फाले लिग तयारी खर्च, विजेता उपविजेता टिमलाई दिने पुरस्कार राशिको बारे निर्णय नभईसकेको बताए ।
'बी' डिभिजन लिगका १२ क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् ।
यस पटक मध्यपुर युथ एसोसिएसन, नयाबस्ती युथ क्लब, सातदोबाटो युथ क्लब, टुसाल क्बल, पुल्चोक स्पोर्टस् क्बल, बासबारी क्लब, बाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम आरसीटि क्लब, खुमलटार युथ क्लब, श्रीबागमती क्लब, झम्सिखेल युथ क्लब र श्री कुमारी क्बलले प्रतिस्पर्धा गर्नेछन् ।
एन्फाले 'सी' डिभिजन लिग भने फागुनमा गर्ने निर्णय गरिसकेको छ । ११ क्लब रहेको 'सी' डिभिजन लिग फागुन तेस्रो साताबाट सुरु हुनेछ ।