एजेन्सी । ईटालियन क्लब युभेन्ट्सका स्टार पाउलो ड्याबालाले लियोनल मेस्सी राष्ट्रिय टिममा फर्किएको हेर्न चाहेको बताएका छन् । उनले अन्तराष्ट्रिय विश्रामलाई अन्त्य गर्दै राष्ट्रिय टिममा पुन आबद्ध हुन मेस्सीलाई आग्रह समेत गरेका छन् ।
मेस्सीले अन्तिम खेल गत जुन ३० मा खेलेका थिए । दक्षिण अमेरिकी देश विश्वकप फुटबलको नकआउट चरणमा फ्रान्ससंग अन्तिम १६ को खेलमा ४–३ ले पराजित भएको थियो ।
त्यसपछि स्पेनिस महारथी बार्सिलोनाका स्टार समेत रहेका मेस्सी क्लबमा केन्द्रित भईरहेका छन् । रुसी विश्वकप पछाडी आन्तरिक प्रशिक्षक लियोनल स्कोलोनीले तयार गरेको तीन टिममा समेत मेस्सी देखिएका छैनन् ।
उनको अनुस्थितीमा अर्जेन्टिनी अर्का स्टार ड्याबालाले टोलीलाई समाल्दै आएका छन् । युभेन्ट्सका प्लेमेकर समेत रहेको ड्याबालाको प्रेरणादायी प्रर्दशनमा अर्जेन्टिनाले गत शुक्रबार मेक्सिकोलाई २–० ले हराएको थियो ।
‘हामी चाहन्छौ उनी फर्किएको हेर्न ।’ ड्याबालाले थपे, ‘हामीलाई उनको महत्व थाहा छ ।’
जर्ज साम्पोलीलाई बर्खास्त गरेपछि क्लबको नेतृत्व स्केलोनीको हातमा आएको छ । आगमनसंगै नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समावेश गर्दै टिम अगाडी बढाईरहेका छन् ।
‘हामी साना छौ । हामीले भर्खरै सुरु गरेका छौ । हामीलाई मानिसको समर्थनको आवश्यकता छ । हामीलाई थाहा छैन, अगाडी के हुनेवाला छ ।’ उनले भने ।