एजेन्सी । इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह र साडियो मानेसहित पाँच खेलाडी ‘बीबीसी अफ्रिकन बर्ष फुटबलर’ अवार्डका लागि मनोनयनमा परेका छन् ।
बेलायती संचार संस्था बीबीसीले शनिबार सार्वजनिक गरेको पाँच खेलाडीको सूचीमा साविकको विजेता तथा इजिप्टका सलाह र सेनेगलका मानेसहित युरोपमा क्लब फुटबल खेलिरहेका अन्य तीन खेलाडी परेका हुन् ।
यस्तै अवार्डका लागि मनोनित अन्य खेलाडीमा मोरक्को तथा युभेन्ट्सका मेधी बेनेटीया, सेनेगल तथा मोनाकोका कालिडोउ कोलीवाली र घाना तथा एट्लेटीको मड्रिडका थोमस पार्टी रहेका छन् ।
तर, यस बर्ष मुख्य दुई खेलाडी सलाह र मानेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सलाह र मानेले लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेका छन् । यस्तै आफ्नो राष्ट्रको लागि समेत उत्कृष्ट खेलिरहेका छन् ।
बीबीसीले हरेक बर्ष यस अवार्ड प्रदान गर्दै आएको छ । बीबीसीले मनोनित पाँच खेलाडीमध्ये सर्वाधिक मत ल्याउने खेलाडीलाई बर्ष खेलाडी अवार्ड दिनेछ ।
बीबीसीले अवार्डका लागि मनोनित पाँच खेलाडीलाई भोटिङका लागि आफ्नो वेब साइडमा राख्ने गर्छ । जसमा समर्थकहरुले भोट गर्न सक्नेछन् ।
बीबीसीले अवार्डका लागि पाँच खेलाडीलाई भोटिङ गर्न शनिबारबाट खुल्ला गरिसकेको छ । समर्थकहरुले आगामी डिसेम्बर २ सम्म भोट गर्न सक्नेछन् ।