एजेन्सी । इंग्लिश प्रिमियर लिग सन् १९९२ फेब्रुअरी २० बाट शुरु भएको थियो । र, प्रिमियर लिग अहिले विश्व क्लब फुटबलकै सबै भन्दा ठुलो प्रतियोगिता बनेको छ ।
पैसा र खेलको स्तरले यसलाई विश्वकै सबैभन्दा शक्तिशाली लिग बनाईदिएको छ । लिगको अर्को सुन्दरता खेलाडीबीच हुने गोलको प्रतिस्पर्धा पनि एक हो ।
यस सिजन प्रिमियर लिगमा म्यान्चेष्टर सिटीका सर्जियो अग्युरो, टोटेनहमका ह्यारी केन र लिभरपुलका मोहमद सलाहबीच प्रतिस्पर्धा छ । तर, प्रिमियर लिगको ईतिहासमा सर्वाधिक गोलको कीर्तिमान कसको नाममा होला ?
प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने शीर्ष पाँच खेलाडीको सूची प्रस्तुत गर्न गईरहेका छौ ।
५. थिएरी हेनरी
गोल - १७५
आर्सनलका लिजेन्ड थिएरी हेनरी इंग्लिश प्रिमियर लिग इतिहासकै प्रख्यात स्ट्राइकर मध्येका एक हुन् । फ्रेन्च म्यान हेनरी १९९९ मा लन्डन क्लब आर्सनलमा आएर आफुलाई एक इतिहासको रुपमा स्थापित गरे ।
पूर्व मोनाको र युभेन्ट्सका विंगरले प्रिमियर लिगमा २५८ खेल खेल्दै १७५ गोल गरेका थिए । उनले आर्सनलका लागि २२८ गोल गरेका छन् । हेनरी अविश्वसनीय र प्रतिभाशाली थिए । हेनरीले आर्सनलमा अनुबन्धन भएको पहिलो सिजनमानै २६ गोल गरेका थिए ।
हेनरीको व्याक्तिगत रुपमा सबैभन्दा राम्रो सिजन २००३–०४ को रहन पुग्यो । त्यो सिजनमा आर्सनलले इतिहासकै सबै भन्दा राम्रो खेल प्रस्तुत गरेको थियो । सो सिजनमा आर्सनलले २६ खेलमा जित १२ खेलमा बराबरीको नतिजा निकाल्दै प्रतियोगितामा अपराजित बनेको थियो । हेनरी हाल फ्रान्सेली क्लब मोनाकोमा प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।
४. फ्रान्क लाम्पार्ड
गोल - १७७
चेल्सीका लिजेन्ड तथा मिडफिल्डर लाम्पार्ड इंग्लिश प्रिमियर लिगमा सर्बाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा पर्दछन् । उनले प्रिमियर लिगमा ६०९ खेल खेल्दै १७७ गोल गरेका थिए ।
लाम्पार्डले चेल्सीलाई तीन प्रिमियर लिग उपाधि जिताउन सहयोग गरेका थिए । उनले २००४–०५, २००५–२००६ र २००९–१० को सिजनमा चेल्सीलाई उपाधि दिलाउन महत्वपुर्ण योगदान गरेका थिए ।
लाम्पार्ड हाल च्याम्पियनसिप क्लब डर्बी काउन्टीमा प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । उनी पश्चिम लन्डन क्लबका सबै भन्दा धेरै गोलकर्ता हुन् । उनले इंग्ल्याण्ड राष्ट्रिय टोलीबाट १०६ खेलमा २९ गोल गरेका छन् ।
३. एन्डी कोल
गोल - १८७
न्यूक्यासल तथा म्यान्चेष्टर युनाईटेडका पुर्व स्ट्रार खेलाडी कोल प्रिमियर लिगका सर्वाधिक तेस्रो नम्बरका गोलकर्ता हुन् ।
कोलले प्रिमियर लिगमा धेरै क्लबबाट खेले । उनले न्युक्यासल, म्यान्चेष्टर युनाईटेड, म्यान्चेष्टर सिटी र फुलहम लगायत क्लबबाट खेले ।
कोलेले प्रिमियर लिगमा ४१४ खेल खेल्दै १८७ गोल गरेका थिए । प्रिमियर लिगमा म्यान्चेष्टर युनाईटेडले पाँच पटक उपाधि जित्दा उनी टिमको महत्वपुर्ण सदस्य थिए ।
युनाईटेडमा रहेर उनले १९९५–९७, १९९६–९७, १९९८–९९, १९९९–२००० र २०००–०१ को सिजन लिग जितेका थिए ।
२. वायन रुनी
गोल - २०८
म्यान्चेष्टर युनाईटेडका पुर्व स्टार वायन रुनी प्रिमियर लिगको सर्बाधिक गोलकर्ताको दोस्रो नम्बरमा छन् । उनले प्रिमियर लिगमा ४९१ खेलमा २०८ गोल गरेका छन् । उनले सबै गोल युनाईटेड र बाल्यकालको क्लब एभर्टनबाट गरेका हुन् ।
एभर्टन फर्कनु अघि रुनीले युनाईटेडलाई पाँच पटक उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनले सन् २००६–०७, २००७–०८, २००८–०९, २०१०–११ र २०१२–१३ सिजनमा युनाईटेडमा रहेर उपाधि जितेका थिए । रुनीलाई युनाईटेड समर्थकले सायदै भुल्ने छन् । रुनी हाल अमेरिकाको डीसी युनाईटेडबाट खेल्दै आएका छन् ।
१. एलान सिएरर
गोल -२६०
प्रिमियर लिगमा सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्, एलान सिएरर । उनले प्रिमियर लिगको ४४१ खेलमा २६० गोल गरेका थिए । जुन, अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
सिएररले ब्लाकबर्न रोभर्स, साउथह्याम्टन र न्युक्यासलबाट गोल गरेका थिए ।
ब्लाकबर्नबाट सर्वाधिक महङ्गो खेलाडीको रुपमा न्युक्यासल आएका उनले सन् १९९४–९५ को सिजन उपाधि जिताउन महत्वपुर्ण योगदान गरेका थिए ।
उनले प्रिमियर लिगमा लगातार तीन सिजन गोल्डेन बुट जितेका थिए । सिएररले १९९४–९५, १९९५–९६ र १९९६–९७ को सिजनमा गोल्डेन बुट हात पारेका थिए ।
एजेन्सीको सहयोगमा