काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाको समर्थनमा रहेको बार्सा नेपालले नैकाप गोल्डकप विजेता खेलाडीलाई सम्मान गरेको छ ।
काठमाडौं शनिबार आयोजित एक कार्यक्रममा बार्सा नेपालले नैकाप गोल्डकप विजेता खेलाडीलाई सम्मान गरेको हो । असोज अन्तिम साता नैकापमा आयोजना भएको गोल्डकपको फाइनलमा बार्सा नेपालले वि आर ब्रदर्शलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।
खेलाडीहरुलाई नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य तथा 'ए' डिभिजन क्लब थ्रीस्टार क्लबका कप्तान बिक्रम लामाले सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि लामाले नैकाप गोल्डकपको ट्रफि बार्सा नेपालका समर्थक माझ सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै लामाले नैकाप गोल्डकप विजेता खेलाडीलाई तथा समर्थकहरुलाई बधाई दिएका थिए । त्यस्तै उनले यस्तो कार्यक्रम हुनु राम्रो भएको बताए ।
'बार्सिलोना क्लबको ठुलो फ्यान क्लब रहेछ, धेरै राम्रो काम हो । यो ग्रपले नेपाली फुटबललाई अगाढी लैजान ठुलो सहयोग गर्छ,' लामाले भने ।
कार्यक्रममा १६० भन्दा बढी समर्थकहरु भेला भएका थिए ।