काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व स्ट्राइकर सन्तोष साहुखल घरेलु लिगमा फर्किएका छन् ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले जारी त्रिभुवन आर्मी क्लबविरुद्ध च्यासल युथ क्लबको जर्सी लगाउदै सन्तोष नेपाली लिगमा फर्किएका हुन् ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा आर्मीविरुद्ध च्यासलले सन्तोषलाई सुरुवाती ११ मा राखेको छ ।
पछिल्लो समय जापानमा बस्दै आएका सन्तोष लिग खेल्न बिहिबार नेपाल आईपुगेका थिए ।
घरेलु लिग फुटबलका सर्वाधिक सफल खेलाडी सन्तोषलाई च्यासल युथ क्लबले लिग खेल्न नेपाल बोलाएको हो । सन्तोष पछिल्लो समय व्यवसायीक फुटबलबाट टाढा रहेका थिए ।
नेपालमा लिग फुटबल रोकिएपछि सन्तोष जापानमा बस्दै आएका थिए ।
यसअघि सन्तोषले घरेलु लिगमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबाट खेलिसकेका छन् । यस्तै सन्तोषले बंगलादेशको क्लब अब्बानी लिमिटेडबाट समेत ३ बर्ष खेलेका थिए ।
पछिल्लो पटक सन्तोषले सन् २०१२ मा थ्री स्टारबाट लिग खेलेका थिए ।
सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३० बर्षीय सन्तोष पछिल्लो समय नेपाली टोलीमा परेका छैनन् । उनले सन् २०१५ मा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए ।