एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा बिहिबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई २ - ० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि दुवै गोल मिसी बासुआईले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बासुआईले दुई गोल गरेका थिए ।
खेलको ५६ औं मिनेटमा बासुआईले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८१ औं मिनेटमा बासुआईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २ - ० को जित दिलाए ।
जितसंगै बेल्जियम समूहको शीर्ष स्थानमा उक्लिएको छ । लिग 'ए' समूह २ मा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको छ ।
यस समूहमा ३ खेलबाट ६ अनक जोडेको स्विजरल्याण्ड दोस्रो र अंक बिहिन आइसल्याण्ड पुछारमा छ ।
नेसन्स लिग अन्तर्गत नै लिग 'सी' समूह २ मा ग्रिसले फिनल्याण्डलाई १ - ० ले पराजित गर्दा हंगेरीले स्टोनियालाई २ - ० ले हराएको छ ।