एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियाले स्पेनलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा क्रोएसियाले स्पेनलाई ३ - २ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन टिन जेडभाजले दुई गोल गरे । यस्तै आन्द्रेज क्रमारिचले एक गोल गरे । स्पेनका ड्यानीअल सेबालोस र सर्जियो रामोसले एक एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा सेबालोसले गोल गर्दै स्पेनलाई खेलमा फर्काए ।
खेलको ६९ औं मिनेटमा जेडभाजले गोल गर्दै पुन: क्रोएसियालाई २ - १ को अग्रता दिलाए । ७८ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई २ - २ गोलको बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जेडभाजले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३ -२ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै लिग 'ए' समूह ४ को क्रोएसियाले लिगमा पहिलो जित निकालेको छ । र, क्रोएसियाले दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
क्रोएसियाले ३ खेलबाट ४ अंक जोडेको छ । क्रोएसिया समूहको पुछारमा छ । पराजित स्पेन ६ अंक जोडेर शीर्ष र ४ अंक जोडेको इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।