एजेन्सी । वायन रोनीको बिदाई खेलमा इङल्याण्डले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । बिहिबार राति भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल खेलमा इङ्ल्याण्डले अमेरिकालाई ३–० गोल अन्तरले हराएको हो ।
२५ औ मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि एलेक्जेन्डर एर्नोल्डले गोल गर्दै टोलीलाई २–० को स्थितीमा पुर्याए । ७७ औ मिनेटमा विलसनले गोल गर्दै इङ्ल्याण्डको जित सुनिश्चित गरे ।
लिङ्गार्डको स्थानमा दोस्रो हाफमा मैदान छिरेका रोनीले केही आकर्षक मुभ बनाउनुका साथै गोलका केही सुन्दर अवसर समेत प्राप्त गरेका थिए । रुनी कप्तानको भूमिकामा मैदान छिरेका थिए ।
इङल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मैत्रिपुर्ण खेलमा युवा खेलाडीलाई मौका दिएका थिए ।
इङ्ल्याण्डले आगामी आईतबार युईएफए नेसन्स लिग अन्तर्गत क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ । सो खेलमा जित निकाले इङल्याण्डले समुह ए फोरको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
मैत्रिपुर्ण खेलमा जितसंगै रोनीले अन्तराष्ट्रिय फुटबल करियरबाट सुखद बिदाई लिएका छन् । ईङल्याण्डका लागि १ सय २० क्याप खेलेका रोनीको नाममा सर्वाधिक गोलको कीर्तिमान समेत छ ।
म्यानचेस्टर युनाइटेड र एभर्टनका पुर्व स्ट्राइकर समेत रहेका रुनीले इंग्ल्याण्डका लागि कीर्तिमानी ५३ गोल गरेका छन्।
३३ बर्षीय रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । रुनीले सन् २०१६ को नोभेम्बरपछि थ्री लायन्सका लागि खलेका थिएनन् । तर, इंग्ल्याण्ड फुटबल एसोसिएसनले कीर्तिमानी गोलकर्ता रुनीको सम्मानमा विदाई खेल राखेको हो ।
रुनी हाल अमेरिकाको मेजर सकर लिग क्लब डीसी युनाइटेडबाट खेलिरहेका छन् ।
यस्तै यस मैत्रीपूर्ण खेलबाट वायन रुनी फाउण्डेसनका लागि फण्ड समेत जम्मा गरिएको थियो ।