काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरी खड्काले महिला फुटबलमा लगानी बढाए अझै राम्रो नतिजा ल्याउने बताएका छन् ।
ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एसियन छनोटको दोस्रो चरणमा प्रवेश गरेर स्वदेश फर्किएपछि प्रशिक्षक खड्काले सम्बन्धित निकायले महिला फुटबलमा लगानी बढाए नेपाली टोलीले ठुला टिमसँग प्रतिस्पर्धा गर्न सक्ने बताएका हुन् ।
'एन्फाको नयाँ नेतृत्वले अहिले महिला टिमका लागि राम्रा योजना ल्याएको छ,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए लगत्तै उनले भने, 'तर, अझै यो भन्दा बढी लगानी बढायो भने हामी ठुला प्रतियोगिता र ठुला राष्ट्रलाई पनि टक्कर दिन सक्छौँ ।'
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका भएको एसियन छनोटमा नेपालले ३ खेलमा ३ बराबरी गर्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
छनोटको समूह 'सी' मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको थियो । नेपाल समूहको तेस्रो स्थानमा रहन सफल भएको थियो । तर, समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।
छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।
यस्तै प्रशिक्षक खड्काले चीनको भ्रमणले म्यानमारमा राम्रो नतिजा आएको बताए ।
'चीन भ्रमणले हामीलाई यो नतिजा ल्याउन सजिलो भयो । यसको लागी एन्फालाई धन्यबाद,' प्रशिक्षक खड्काले भने । नेपालले चीन भ्रमणको दौरान एक साता प्रशिक्षण र तीन मैत्रीपूर्ण खेल खेलेको थियो ।
यस्तै नेपाली टोलीका कप्तान निरु थापाले वरीयतामा उच्च टोलीहरुसंग राम्रो खेलेको बताईन् । उनले आगामी साफ च्याम्पियनसिपको लागि तयारी गर्ने समेत बताईन् ।
अब नेपालले आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा सहभागिता जनाउनेछन् । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।