काठमाडौं । पछिल्ला केही महिना नेपाली महिला फुटबलका लागि उल्लेख्य रह्यो । उमेर र सिनियर महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई सिद्ध गर्न प्रयास गरे ।
एउटा ऐतिहासिक उपलब्धि भर्खरै महिला फुटबलले प्राप्त गरेको छ । पहिलो पटक ओलम्पिक छनोटमा सहभागि नेपालको महिला राष्ट्रिय टिम दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।
घरेलु फुटबलमा खासै व्यस्त हुन नपाएको महिला फुटबलले म्यानमारको छनोट प्रतियोगितामा आफुलाई प्रमाणित गर्यो ।
असारको अन्तिम साता हेटौडा र रौतहटमा उपराष्ट्रपति कप राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो । सोही प्रतियोगितामा छनोट भएर काठमाडौं र रौटहतले जिल्लाको नेतृत्व गर्दै काठमाडौंमा उपराष्ट्रपति कप महिला लिग खलेका थिए ।
९ दिनसम्म चलेको लिगबाट ४७ खेलाडी राष्ट्रिय टिमका लागि प्रारम्भिक छनोटमा परेका थिए । बन्द प्रशिक्षणबाट मुख्य प्रशिक्षक हरि खड्काले ओलम्पिक छनोटका लागि टिम तयार गरेका थिए ।
नेपाल यतिबेला ओलम्पिक छनोटमा एक कदम अगाडी बढेको छ । तर,ओलम्पिक छनोटलाई नेपालले साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ । ओलम्पिक छनोटको पहिलो सहभागितामा प्राप्त ऐतिहासिक सफलताले महिला फुटबलको सम्भावनालाई उजागड गरेको छ ।
छनोटको पहिलो खेलमा चिरपरिचित भारतसँग नेपालले बराबरी खेल्यो । पछिल्ला भेटमा भारतसंग लगातार ७ खेल गुमाएको नेपाली महिला टोलीले अहिलेसम्म दक्षिण एसियाली महारथीलाई पराजित गर्न सकेको छैन । भारतसंग नेपालले दोस्रो पटक बराबरी खेलेको हो ।
दोस्रो खेलमा फिफा वरीयतामा आफुभन्दा निकै माथि रहेको म्यानमारविरुद्व नेपालले बहादुरीपुर्ण प्रर्दशन गर्यो । वरीयतामा निकै माथि रहेको म्यानमारलाई नेपालले बराबरीमा रोक्न सफल भयो । अन्तिम खेलमा बंगलादेशसंग बराबरीमा रोकिदै नेपाल छनोट खेलमा अपराजित रह्यो ।
नेपालले आगामी अप्रिलमा दोस्रो चरणको छनोटमा सहभागिता जनाउनेछ । १० टिम रहने दोस्रो चरणको छनोटबाट ३ टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागीता रहनेछ ।
एक पटक ईतिहासतर्फ फर्कौ ।
सन् १९८० बाट महिला फुटबल नेपालमा सुरुवात भयो । तर, महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् १९८६ मा खेल्यो ।
एएफसी महिला च्याम्पियनसिपमा सहभागि नेपालले पहिलो प्रतिस्पर्धामा हङकङसँग पराजित भएको थियो । सो खेल नेपालले १–० ले गुमाएको थियो ।
लगत्तै नेपाली महिला टिमले सन् १९८६, १९८९ र १९९९ मा एसियन कपमा सहभागीता जनायो । तर कहिल्यै समूह चरण पार गर्न सकेन । लगत्तै नेपालको महिला फुटबल करिब एक दशक फुटबल गतिविधिबाट बाहिर रह्यो ।
सन् २०१० मा दक्षिण एसियाली फुटबल महासंघले महिला फुटबललाई अगाडि बढाउने योजना सहित साफ महिला च्याम्पियनसिप सुरु गर्यो ।
केही बर्ष शुन्यप्राय देखिएको महिला फुटबल फेरी एकपटक जुर्मुराउन थाल्यो । पहिलो संस्करणको साफ च्याम्पियनसिपमा नेपालले फाईनल यात्रा तय गर्यो । उपाधि भिडन्तमा खेल ३–१ ले गुमायो ।
सन् २०११ मा बंगलादेशमा आयोजित ११ औं सागमा नेपालले खेलेको थियो । त्यो समय देखि नेपाली टिमले विपक्षीको पोस्टमा गोल वर्षा गर्न थालेको हो ।
भारतलाई छाडेर दक्षिण एसियामा नेपालले आफुलाई शक्तिशाली टोलीको रुपमा स्थापित गर्यो । सागको पहिलो खेलमा बंगलादेशलाई एक गोल गरेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ८ गोल बर्षाएको थियो । समुहको अन्तिम खेलमा नेपाली टिम भारतसँग ५–० ले पराजित हुन पुगेको थियो ।
समुह उपविजेता बन्दै सेमिफाइनल पुगेको नेपालले पाकिस्तानविरुद्व उत्कृष्ट नतिजा निकाल्यो । तर, उपाधि भिडन्तमा नेपाली टिम भारतसंग ३–१ ले पराजित हुँदै उपविजेतामा सिमित बन्यो ।
प्रतियोगिताको स्मरणिय पक्ष, सो प्रतियोगितामा भारतले एक गोल व्यहोरेको थियो । फाईनलमा त्यो गोल नेपालले गरेको थियो ।
त्यसपछि नेपाली महिला टिमले सन् २०१२ र २०१४ मा लगातार तेस्रो पटक साफ च्याम्पियनसिपमा उपविजेतामा सिमित रह्यो । तीनै पटक भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।
सन् २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो । नेपाल पहिलो पटक बंगलादेशसँग पराजित हुँदै अन्तिम ४ बाट बाहिरिएको थियो ।
सन् २०१६ मा भएको दोस्रो साग खेलमा नेपाल पुन एक पटक फाईनलमा भारतसंग ४–० गोल अन्तरले पराजित हुन पुगेको थियो । समुह चरणमा नेपालले भारतसँग बराबरी खेलेपनि महिला फुटबलमा भारतीय बर्चस्वलाई तोड्न सकेन ।
सिनियर स्तरमा जस्तै नेपालको महिला फुटबलको उमेर समुहका कथा पनि उस्तै छन् ।
भखरै सम्पन यू–१९ एएफसी च्याम्पियनसिपमा नेपाली महिला टिमले पहिलो चरण पार गरेको छ । थाइल्याण्डमा भएको प्रतियोगिता पहिलो खेलमा आयोजकसँग पराजित भएको नेपालले चिरपरिचित भारतलाई २–० र पाकिस्तानलाई ८–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
त्यस्तै, असोजको तेस्रो साता भुटानमा भएको साफ महिला यू–१८ च्याम्पियनसिपमा नेपाली टिम उपविजेता बन्न सफल भएको थियो । बंगलादेशसंग फाईनल खेल गुमाएपनि नेपालको उमेर समुहको महिला टिमले उत्कृष्ट प्रर्दशन गरेको थियो ।
साउनको चौथो साता भुटानमै भएको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपाली टिम सेमिफाईनलबाट बाहिरियो ।
नेपालमै भएको एएफसी यू–१६ मा नेपाली टिमले खासै गतिलो प्रर्दशन गर्न सकेन । पहिलो खेलमा फिलिपिन्ससंग ४–० ले र दोस्रोमा म्यानमारसंग ११–० ले हार्यो । तेस्रो खेलमा मलेसियासंग ४–४ गोलको बराबरी खेलेको थियो ।
उमेर र सिनियर महिला टिममा एक चिजको प्रष्ट अभाव देखिन्छ, अनुभवको ।
घरेलु फुटबलमा महिला फुटबलरले बुट थन्काएको धेरै समय भयो । राष्ट्रिय टिमको बन्द प्रशिक्षण, लटरपटर लिग र विभागीय टिम आर्मीले आयोजना गर्ने प्रधानसेनापति कप बाहेक महिला फुटबलले खेल्ने प्रतियोगिता छैन ।
विभागका खेलाडीले नियमित अभ्यास गर्न पाउछन् । तर प्रर्दशनमा निखार ल्याउन गतिलो प्रतियोगिता खेल्न पाउदैनन् । विभाग बाहिरका खेलाडीका लागि फुटबल निकै टाढाको बिषय बनेको छ ।
एकाध घरेलु प्रतियोगिताका भरमा महिला फुटबलबाट अन्तराष्ट्रिय सफलताको आश गर्नुको कुनै अर्थ छैन । अब पनि महिला फुटबलका जग बसाल्ने अभियानको थालनी भएन भने परिवर्तित एन्फाको नारा बेकार बन्नेछ ।