काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएका छन् ।
म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटबाट दोस्रो चरणमा स्थान बनाएर नेपाली टोली आज स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा उपाध्यक्ष कृष्ण थापा, एन्फा अन्तर्गत महिला संघका अध्यक्ष बिन्द्रा देवान लगायतका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । र, यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो ।
छनोटको समूह 'सी' मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको थियो । नेपाल समूहको तेस्रो स्थानमा रहन सफल भएको थियो । समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।
छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।
यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । मंगलबार भएको खेलमा म्यानमारले भारतलाई २ - १ ले हराएको छ । बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।
दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।