एजेन्सी । फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीले युवा स्टार स्ट्राइकर केलियन एमबाप्पे महान व्यक्तित्व भएको खेलाडी रहेको बताएका छन् ।
युइएफए नेसन्स लिग अघि पत्रकार सम्मेलनमा बोल्दै युभेन्ट्सका प्ले मेकर माटुइडीले युवा स्टार स्ट्राइकर एमबाप्पेको चर्चा गरेका हुन् । नेसन्स लिगमा फ्रान्सले शनिबार नेदरल्याण्डसंग खेल्दैछ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का एमबाप्पे अहिले १९ बर्षको भए । तर, उनको परिपक्कता निकै माथि रहेको माटुइडीको बुझाई छ ।
माटुइडीले एमबाप्पे क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र ज्लाटन इब्राहिमोबिच जतिकै व्यक्तित्व भएको खेलाडी रहेको बताए ।
'यो उनको व्यक्तित्व हो । त्यो खेलाडी उहाँ नै हो,' माटुइडीले फ्रान्सका टिम मेट एमबाप्पेबारे भने, 'उ एक महान प्रतिभाशाली खेलाडी हो । हरेक उत्कृष्ट खेलाडीको महान व्यक्तित्व हुन्छ । मलाई थाहा छ को ज्लाटनसंग छ । मैले रोनाल्डोमा देखेको छु र मेस्सीसंग पनि ।'
एमबाप्पेले रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपका उत्कृष्ट युवा खेलाडी घोषित एमबाप्पेले पिएसजीमा समेत उच्च प्रदर्शन गरिरहेका छन् । उनी बालोन डी'ओर अवार्डका लागि मुख्य दाबेदार खेलाडी समेत हुन् ।
यस्तै माटुइडीले एमबाप्पे जस्तो खेलाडी टिममा चाहिने बताउदै आफुले सधै प्रोत्साहन गर्ने बताए ।
'एमबाप्पे पहिले नै एक महान खेलाडी हुन् । उनले धेरै ठुलो कार्य गरिरहेका छन् । यो राम्रो हो । हामीलाई उ जस्तै खेलाडी चाहिन्छ । म उसलाई यस्तै रहन प्रोत्साहन गर्छु,' माटुइडीले भने।