काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब च्यासल युथ क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नवलपरासीमा सोमबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै च्यासलले फाइनलमा स्थान बनाएको हो ।
च्यासललाई जित दिलाउन संजोक राई, बिमल घर्ति मगर, विश्व अधिकारी र हेमन्त थापा मगरले समान एक एक गोल गरे ।
हिमालयन शेर्पाविरुद्ध च्यासलले खेलको २२ औं मिनेटमा संजोकको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोल गरेको च्यासलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
खेलको ७२ औं मिनेटमा बिमलले गोल गर्दै च्यासलको अग्रता २ - ० को बनाए । त्यसको तीन मिनेट नबित्दै विश्वले गोल गर्दा च्यासल ३ - ० ले अघि रह्यो । त्यसपछि खेल सकिन ९ मिनेट बाकी रहँदा हेमन्तले गोल गर्दै च्यासललाई ४ - ० को जित दिलाए ।
खेलमा च्यासलका विश्व म्यान अफ दि म्याच चुनिए । उनले नगद ५ हजार प्राप्त गरे ।
अब फाइनलमा च्यासलले बिहिबार नेपाल पुलिस क्लबसंग खेल्नेछ । पुलिस बिरगंज युथ क्लबलाई हराएर फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।