काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली बिहिबार अपरान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार नेपाली टोली मालिन्डो एयरलाइन्सबाट अपरान्ह १२:२० मा नेपाल आइपुग्नेछन् ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एसिया छनोटको अन्तिम खेलमा मंगलबार बंगलादेशसंग १ - १ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा छनोट भएको थियो । नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो ।
बंगलादेशसंगको बराबरीसंगै समूह 'सी' मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको थियो । र, नेपाल समूहको तेस्रो स्थानमा रहन सफल भएको थियो । समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।
छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।
यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । मंगलबार भएको खेलमा म्यानमारले भारतलाई २ - १ ले हराएको छ । बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।
दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।