काठमाडौं । सिएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने पाँचौं अन्तराष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
युनाइटेड ब्रदर्स क्लबको आयोजनामा हुने च्याम्पियनसिप कार्तिक २९ गतेदेखि मंसिर २ सम्म आयोजना हुनेछ । च्याम्पियनसिपमा भारतको मनिपुर, भुटान, कोलकत्ता, बंगलादेश, नयाँ दिल्लीका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा सिएमजी अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष, पूर्व राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहको नेतृत्वमा मैदान उत्रने छन् । सिएमजीको टिममा नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बाल गोपाल महर्जन पनि रहेका छन् । यस्तै सिएमजीको टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका पुर्व खेलाडीहरु रहेका छन् ।
च्याम्पियनसिपका लागि सिएमजी क्लबका २० सदस्यीय भेट्रान टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । सिएमजी टोलीलाई मंगलबार क्लबले विदाई गरेको थियो । च्याम्पियनसिपमा जाने टोलीलाई पल्सर शहिद स्मारक 'ए' डिभिजन लिगका संयोजक तथा क्लबका प्रबन्ध निर्देशक पुर्व सांसद नरेन्द्र शाहले बिदाई गरे ।
विदाई कार्यक्रममा बोल्दै कप्तान सिंहले टोलीको तयारी राम्रो रहेको कारण उपाधि जितेर फर्कने बताए ।
'हाम्रो मुख्य लक्ष्य शिल्ड उठाउने हो । तयारी राम्रो गरेका छौँ,' कप्तान सिंहले भने, 'नेपालको युथ टिम, महिला टिमसँग लगातार अभ्यास खेल खेलका छौँ । नतीजा राम्रो आउँछ ।'
च्याम्पियनसिपको विजेताले ५० हजार भारतीय रुपैया पाउने छन् । यस्तै उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन् ।
सिएमजी नेपाली भेट्रान टिम :
उपेन्द्रमान सिंह (कप्तान)
राजेश मानन्धर
बाल गोपाल महर्जन
राकेश श्रेष्ठ
नविन पाण्डे
दिनेश ब्यञ्जनकार
चेत नारायण श्रेष्ठ
शुक्र तामाङ
रविन मान ब्यञ्जनकार
विजय श्रेष्ठ
अष्ट कुमार कावे
सुविन शाक्य
कर्मा छिरिङ गुरुङ
आकाश गुरुङ
उज्वल श्रेष्ठ
छानु राम चौधरी
सरोज कुमार थापा क्षेत्रि
नरोत्तम गौतम
संजिब सिंह
विजय शाही