काठमाडौं । नेपाल ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
म्यानमारमा जारी पहिलो छनोटको समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेल्दै नेपालले दोस्रो चरणको छनोटमा स्थान पक्का गरेको हो ।
याङगोनस्थित थुनुवा रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसंग १–१ गोलको बराबरी खेलेको हो ।
सुरुवाती अग्रता बनाएपनि अन्तिम समय सम्हालिन नसक्दा नेपाल बराबरीमा रोकिएको हो । खेलको १६ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर, खेलको इन्जुरी समयमा बंगलादेशकी अखिल खातुनले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याईन् ।
यो बराबरीसंगै नेपालले समूह 'सी' मा ३ खेलबाट ३ अंक जोड्यो । र, नेपालले समूहको तेस्रो स्थानमा रहदै प्रतियोगिताको अन्त्यत गर्यो । समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।
यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । मंगलबार भएको खेलमा म्यानमारले भारतलाई २ - १ ले हराएको छ । बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।
छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।
दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।