काठमाडौं । ओलम्पिक छनोट अन्तर्गत नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्व अग्रता बनाएको छ । म्यानमारको याङगोनस्थित थुनुवा रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले १–० को अग्रता बनाएको हो ।
खेलको १६ औ मिनेटमा कप्तान निरु थापाले नेपालका लागि गोल गरेकी छिन् । अघिल्लो चरण प्रवेश गर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
समूह 'सी' मा रहेको नेपाल २ अंक जोडेर तेस्रो स्थानमा छ । यस समुहमा ४ अंक जोडेको म्यानमार शीर्ष र ४ अंक जोडेको भारत दोस्रो स्थानमा छ । बंगलादेश अंक बिहिन हुँदै पुछारमा छ ।
सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।