एजेन्सी । इंग्लिश क्लब आर्सनलका फरवार्ड ड्यानी वेलबेकको खुट्टाको एन्कल शल्यक्रिया गरिएको छ । गत साता दाहिने खुट्टाको एन्कलमा चोट बोकेका वेलबेकको शल्यक्रिया गरिएको हो ।
युरोपा लिग अन्तर्गत गत बिहिबार स्पोर्टिङ लिस्बोनविरुद्धको खेलमा वेलबेकको एन्कल फ्याक्चर भएको थियो । इमिरेट्स स्टेडियममा भएको उक्त खेल गाेल रहित बराबरीमा सकिएको थियो । तर, आर्सनलले नकआउट चरणमा भने स्थान बनाएको थियो ।
खेलको २५ औं मिनेट चलिरहदा बेलबेकले एन्कलको चोट बोकेका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
एन्कलको शल्यक्रिया गरेसंगै वेलबेकको मैदान फर्कने समय अनिश्चित बनेको छ । आर्सनलले उनको पुनरागमन अहिले तत्काल भन्न नसकिने जनाएको छ ।
'ड्यानी अहिले पुनर्स्थापनामा रहेका छन् । त्यसैले उनले कति समय लगाउछन् भन्न अहिले चाँडो हुनेछ,' आर्सनलले भनेको छ ।
इंग्ल्यान्डका २७ बर्षीय फरवार्ड वेलबेकले यो सिजन १४ खेलमा ५ गोल गरिसकेका छन् । वेलबेक अर्को साता अमेरिका र क्रोएसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि इंग्ल्यान्डको टोलीमा समेत रहेका छन् ।