काठमाडौं । जापान ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको अन्तिम खेलमा नेपालले आज (मंगलबार) बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
याङगोनस्थित थुनुवा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २:१५ बजे सुरु हुनेछ ।
नेपालका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नै पर्ने दबाब छ ।
नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारसंग समान १-१ गोलको बराबरी खेल्दै अंक बाडेका थिए ।
समूह 'सी' मा रहेको नेपाल २ अंक जोडेर तेस्रो स्थानमा छ । यस समुहमा ४ अंक जोडेको म्यानमार शीर्ष र ४ अंक जोडेको भारत दोस्रो स्थानमा छ । बंगलादेश अंक बिहिन हुँदै पुछारमा छ ।
यस्तोमा नेपाललाई दोस्रो चरणमा पुग्न बंगलादेशविरुद्ध जितको विकल्प छैन । बंगलादेशलाई पराजित गर्न सके नेपालको दोस्रो चरणको यात्रा केहि सहज हुनेछ ।
अघिल्ला खेलको तुलना गर्दा नेपालले बंगलादेशलाई सहजै हराउने अनुमान गरिएको छ । किनकि समूह चरणका अघिल्ल दुई खेलमा बंगलादेश निकै कमजोर देखिएको छ । उसले दुवै खेलमा फराकिलो हार व्यहोरेको छ ।
तर, नेपालका लागि भारत र म्यानमारबीचको खेल पनि महत्वपूर्ण हुनेछ । भारत र म्यानमारबीच बेलुका खेल हुन्छ । उक्त खेलमा हार जित भएमा र बंगलादेशलाई हराएमा नेपाल उपविजेताले उपविजेताको रुपमा दोस्रो चरणको यात्रा तय गर्नेछ । उक्त खेल गोलरहित बराबरी भएमा नेपालको समूह विजेता बन्ने सम्भावना बलियो हुनेछ ।
यस्तै नेपालको उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा पुग्ने सम्भावना समेत रहेको छ । सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १०टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।