काठमाडौं । विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवलपरासीमा सोमबार भएको अन्तिम क्वाटरफाइनलमा हिमालयन शेर्पाले एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो । खेलको निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
यसअघि खेलको ४४ औं मिनेटमा कर्ण लिम्बुले पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमै एपीएफ खेलमा फर्किएको थियो । उसका लागी प्रविन स्याङताङले बराबरी गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ७३ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपीएफलाई २ - १ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी जोनियर वान्डाले गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याएका थिए । खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी चनिए ।
अब सेमिफाइनलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबसंग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र विरगन्ज युथ एकेडेमीबीच खेल हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले खेलपाटीलाई जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै फाइनल पुग्ने २ टिमले पनि १/१ लाख पाउने आयोजकले जनाएको छ ।