एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता तथा लिग लिडर बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोना रियल बेटिससंग ४ - ३ ले स्तब्ध बनेको हो ।
नाउ क्याम्पमा कप्तान लियोनल मेस्सी चोटबाट मुक्त हुँदै मैदान फर्किएको खेलमा बार्सिलोनाले पराजय व्यहोरेको हो । बेटिसलाई जित दिलाउन जुनियर फिर्पो, जोआकिन, जियोभानी लो सेल्सो र सर्जियो कानालेसले एक एक गोल गरे ।
बार्सिलोनाका लागि मेस्सीले दुई तथा अर्टुरो भिडालले एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
पाहुना टोली बेटिसविरुद्ध बार्सिलोना पहिलो हाफमै २ - ० ले पछि परेको थियो । खेलको २० औं मिनेटमा फिर्पोले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा जोआकिनले गोल गरेपछि बेटिसले पहिलो हाफमा २ - ० को अग्रता बनायो ।
दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कने कोशिश गर्यो । खेलको ६८ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २ - १ को स्थितिमा ल्याए । तीन साता अघि हातको चोट बोक्दै मैदान बाहिर रहेका मेस्सीले पुनरागमन गरेकै खेलमा गोल गरेका हुन् ।
खेलको ७१ औं मिनेटमा सेल्सोले गोल गर्दै बेटिसलाई ३ - १ को अग्रता दिलाए । ७९ औं मिनेटमा बार्सिलोनाका भिडालले गोल गर्दै खेल ३ - २ को बनाए । तर, ८१ औं मिनेटमा इभान राकीटीचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटियो ।
जसको फाइदा बेटिसले उठायो । खेलको ८३ औं मिनेटमा कानालेसले गोल गर्दै बेटिसलाई ४ - २ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपनि बार्सिलोनाले ४ - ३ को हार व्यहोर्यो ।
यो हारसंगै बार्सिलोनाले शीर्ष स्थानको अंक दुरी बढाउने मौका गुमाएको छ । हारपछि बार्सिलोनाले १२ खेलबाट २४ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा १ अंकले अघि छ । बेटिस १२ खेलबाट १६ अंक जोडेर १२ औं स्थानमा छ ।