काठमाडौं । महिला ओलम्पिक फुटबलका लागि एसियन छनोटको दोस्रो खेलमा नेपालले घरेलु टोली म्यानमारसंग बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार भएको खेलमा नेपालले बलियो टोली म्यानमारसंग १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
याङगोनस्थित थुनुवा स्टेडियममा सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा नेपालले बराबरी खेलेको हो । खेलको दोस्रो मिनेटमै अग्रता बनाएपनि नेपालले जोगाउन भने सकेन । म्यानमारको डिफेन्डरले फल गरेपछि पाएको पेनाल्टीमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर,खेलको १४ मिनेटमा म्यानमारले कर्नरमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । म्यानमारकी खिन मोइले कर्नरबाट सिधै गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याईन् । उनको कर्नर बल नेपालकी गोलकिपर एन्जिला सुब्बाले रोक्न सकिनन् ।
दोस्रो हाफमा मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ - १ गोलको बराबरीमा सकियो ।
फिफा वरीयतामा ६४ स्थान माथिको म्यानमारसंगको बराबरीसंगै समूह 'सी' को नेपालले दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । नेपालले २ खेलबाट २ अंक जोडेको छ ।
यस समुहबाट दुई खेल खेलको भारत र म्यानमारको समान ४/४ अंक छ । बंगलादेश अंक बिहिन हुँदै पुछारमा छ । अब नेपालले बंगलादेशसंग मंगलबार खेल्नेछ ।
नेपालले मंगलबार बंगलादेशलाई पराजित गरेमा नेपालको दोस्रो चरणको यात्रा केहि सहज हुनेछ । तर, नेपालका लागि भारत र म्यानमारबीचको खेल पनि महत्वपूर्ण हुनेछ ।
उक्त खेलमा हार जित भएमा र बंगलादेशलाई हराएमा नेपालको दोस्रो चरणको यात्रा तय हुनेछ । उक्त खेल बराबरी भएमा गोल अन्तरले दोस्रो चरण पुग्ने दुई टोलीको तय हुनेछ ।
सन् २०२० को ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।