काठमाडौं ।म्यानमारमा जारी ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटमा नेपालले अहिले घरेलु टोली म्यानमारसंग प्रतिस्पर्धा गरिरहेको छ ।
याङगोनस्थित थुनुवा स्टेडियममा म्यानमारलाई हराउने लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो हाफमा १-१ को बराबरी खेलेको छ ।
खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता बनाएपनि नेपालले अग्रता भने जोगाउन सकेन । नेपालकी सावित्रा भण्डारीले गोल गरेकी थिईन ।म्यानमारको डिफेन्डरले फल गरेपछि पाएको पेनाल्टीमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् ।
तर,खेलको १४ मिनेटमा म्यानमारले खेल बराबरीमा ल्यायो । उसको लागी खिन मोइले कर्नर मार्फत गोल गरेकी हुन् । उनले प्रहार गरेको कर्नर बल नेपाली गोलकिपर एन्जीला तुम्बाप्पो सुब्बालाई छुदै गोल भएको थियो ।
खेलको पहिलो हाफमा नेपालले खेलाडी परिवर्तन गरेको छ । खेलमा १८ मिनेटमा कप्तान निरु थापालाई बाहिर बोलाइएको छ भने सरु लिम्बु मैदान प्रवेश गरेकी छिन् ।
समूह सी मा रहेको नेपाललाई दोस्रो चरणमा पुग्न यस खेल महत्वपूर्ण रहेको छ । लिगमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको नेपाललाई दोस्रो चरणको यात्रा तय गर्न म्यानमारविरुद्ध अंक खोस्नै पर्ने बाध्यता रहेको छ । म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लदै भारतले छनोटको दोस्रो चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।