एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (आइतबार) विभिन्न ६ खेलहरु संचालन हुँदैछ । सिरी 'ए' मा आज शीर्ष स्थानको युभेन्ट्स, इन्टर मिलान, एसी मिलान जस्ता क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सिरी 'ए' अन्तर्गत आज हुने खेलमध्ये युभेन्ट्स र एसी मिलानबीचको खेल सबैको पर्खाइको खेल हुनेछ । नेपाली समय अनुसार मध्ये राति १:१५ मा सुरु हुने खेल मिलानको घरेलु मैदानमा हुनेछ ।
मिलानविरुद्ध मैदान उत्रदा युभेन्ट्स आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । युभेन्ट्सलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउल डिबाला जस्ता खेलाडीको साथ रहन्छ ।
पछिल्लो खेलमा रोनाल्डोले लय समात्नु युभेन्ट्सको लागि फाइदा हो । पछिल्लो खेलमा रोनाल्डो गोल गर्न र गोलका लागि पास उपलब्ध गराउन सफल भईरहेका छन् । यसै साता च्याम्पियन्स लिगमा पुर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेका रोनाल्डोले मिलानविरुद्ध पनि गोल गर्न सक्ने सम्भावना छ ।
तर, निकै लयमा रहेको युभेन्ट्सलाई घरेलु टोलीविरुद्ध जित निकाल्न कठिन नै हुनेछ । किनकी घरेलु टोली युभेन्ट्सलाई हराउदै शीर्ष तीन भित्र पर्न चाहन्छ । युभेन्ट्सलाई रोक्न मिलानले निकै मेहेनत गर्नेछ ।
लिगमा शीर्ष स्थानको युभेन्ट्सले ११ खेलबाट ३१ अंक जोडेको छ भने चौथो स्थानको मिलानले २१ अंक जोडेको छ ।
सिरी 'ए' अन्तर्गत अर्को खेलमा इन्टर मिलानले एटलान्टासंग खेल्नेछ । यस्तै रोमाले साम्पडोरियासंग खेल्नेछ ।