काठमाण्डौं । ललित स्मृति यु -१८ फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा दुई ललितपुरे क्लब रुस्लान थ्रीस्टार र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा थ्रीस्टार र फ्रेन्ड्सले २–२ गोलको बराबरी खेलेका हुन् । एक खेल अगावै क्वाटरफाइनल पुग्ने लक्ष्य लिएको फ्रेन्ड्सलाई अन्तिम समयमा गोल गर्दै थ्रीस्टाले बराबरीमा रोकेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स बराबरीमा रोकिन पुगेको हो ।
पहिलो हाफको छैटौं मिनेटमा फ्रेन्ड्सले टिकाराम गुरुङको गोल मार्फत अग्रता बनाएको थियो । तर, खेलको आठौं मिनेटमा थ्रीस्टारको लागि सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको १४ औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै फ्रेन्ड्सलाई २ - १ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा थ्रीस्टारका रोशन लामिछानेले गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याउदै थ्रीस्टारलाई हारबाट जोगाए ।
यो बराबरीसँगै समूह सीमा रहेका फ्रेन्ड्स र थ्रीस्टारको समान ५ - ५ अंक जोडेको छ ।