काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबलको एसियन छनोटमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले हराएको छ । आइतबार भएको खेलमा भारतले बंगलादेशलाई ७ - १ ले हराएको हो ।
भारतलाई जित दिलाउन बाला देवी एक्लैले चार गोल गरिन । यस्तै कमला देवीले २ तथा सन्जुले एक गोल गरिन् । बंगलादेशकी कृष्ण रानीले एक गोल फर्काइन् ।
जितसंगै समूह 'सी' को भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लदै भारतले छनोटको दोस्रो चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।
भारतले फराकिलो जित निकालेसंगै नेपाललाई भने चुनौती थपिएको छ । नेपाललाई दोस्रो चरणमा पुग्न अबको दुई खेल महत्वपूर्ण हुने भएको छ । नेपालले आज बेलुका म्यानमारसंग खेल्दैछ । यस्तै अन्तिम खेलमा मंगलबार बंगलादेशसंग खेल्नेछ ।
लिगमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको नेपाललाई दोस्रो चरणको यात्रा तय गर्न म्यानमारविरुद्ध अंक खोस्नै पर्ने बाध्यता बनेको छ । म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।