एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न ५ खेलहरु संचालन हुँदैछ । ला लिगामा आज बार्सिलोना, रियल मड्रिड लगायतका ठुला क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।
लिग लिडर बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसको सामना गर्दैछ । उक्त खेल नेपाली समय अनुसार राति ९:०० बजे सुरु हुनेछ ।
बेटिसविरुद्ध मैदान उत्रदा बार्सिलोना जितको यात्रालाइ कायम राख्न चाहन्छ । यस्तै बेटिसविरुद्ध तीन साता मैदान बाहिर रहेका कप्तान लियोनल मेस्सी मैदान उत्रन सक्ने सम्भावना छ । हातको चोटका कारण मैदान बाहिर रहेका मेस्सी मैदान फर्किए बार्सिलोनालाई थप राहत हुनेछ ।
लिगको ११ खेल सकिदा बार्सिलोनाले ११ खेलबाट २४ अंक जोडेको छ । रियल बेटिस १३ अंक जोडेर १५ औं स्थानमा छ ।
ला लिगा अन्तर्गत रियल मड्रिडले सेल्टा भिगोसंग उसैको मैदानमा खेल्नेछ । रियल र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति १:३० मा सुरु हुनेछ ।
सेल्टाविरुद्ध मैदान उत्रदा रियल जित निकाल्दै शीर्ष टोलीसंगको दुरी कम गर्न चाहन्छ । रियल १७ अंक जोडेर लिगको छैटौं स्थानमा छ । सेल्टा १४ अंक जोडेर १३ औं स्थानमा छ ।
ला लिगाको अन्य खेलमा भिया रियलले रायो भालेसानो, सेभियाले स्पानियोल र अल्भेसले हुएस्कासंग खेल्नेछ ।