एजेन्सी । इङ्ल्याण्डका स्टार रहिम स्टरलिङले म्यान्चेष्टर सिटीसंगको अनुबन्धन सम्झौता नविकरण गरेका छन् । उनले क्लबसंग तीन बर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । सहमती अनुसार उनी सन् २०२३ सम्म क्लबमा रहनेछन् । उनले प्रतिहप्ता ३ लाख पाउण्ड प्राप्त गर्नेछन् ।
२३ बर्षका इङ्ल्याण्डका फरवार्डको इतिहाद स्टेडियमसंगको सम्झौता यसै सिजनको अन्तिमबाट सकिन लागेको थियो । नयाँ सम्झौता अनुसार स्टरलिङ प्रिमियर लिगमा राम्रो रकम बुझ्ने इङ्लिस खेलाडी बनेका छन् ।
'नयाँ सम्झौतामा हस्ताक्षर गर्दा म खुसी छु ।' उनले भने, 'क्लबमा मेरो विकास अविश्वसनीय रहेको छ ।'
'मलाई लाग्छ मैलै निकै राम्रो विकल्प छनोट गरेको छु । नयाँ सम्झौताप्रति म आभारी छु ।' उनले थपे ।
स्टरलिङले यस सिजन सात गोल गरेका छन् । उनी सन् २०१५ मा ४९ मिलियन पाउण्डमा लिभरपुलबाट म्यान्चेष्टर सिटी आएका थिए । उनले गत सिजन २३ गोल गरेका थिए । उनकै गोलको सहयोगमा सिटीले प्रिमियर लिग र काराबाओ कप जितेको थियो ।
इङ्ल्याण्डबाट ४६ क्याप खेलेका उनले गत महिना स्पेनविरुद्व २ गोल गरेका थिए ।