एजेन्सी । इंग्लिश क्लब आर्सनलला फरवार्ड ड्यानी वेलबेक केहि साता मैदान बाहिर रहने भएका छन् । युरोपा लिग अन्तर्गत स्पोर्टिङ लिस्बोनविरुद्ध घाइते भएपछि वेलबेकले केहि साता मैदानमा नदेखिने भएका हुन् ।
घरेलु मैदानमा बिहिबार राति भएको समूह चरण अन्तर्गत लिस्बोनविरुद्धको खेलमा वेलबेक घाइते भएका थिए । साे खेल गाेल रहित बराबरीमा सकिएको थियो । तर, आर्सनलले नकआउट चरणमा भने स्थान बनाएको छ ।
खेलको २५ औं मिनेट चलिरहदा बेलबेकको एन्कलमा चोट लागेको थियो । उनको एन्कल भाच्चिएको बताईएको छ ।
खेलको दौरान घाइते भएपछि वेलबेकलाई तत्काल अस्पताल लगिएको थियो । उनी अस्पतालमै उपचार गरिरहेका छन् । तर, अस्पतालको रिपोर्टपछि मात्र वेलबेक कति साता मैदान बाहिर रहन्छ भन्ने जानकारी हुने बताईएको छ ।
आर्सनलका प्रशिक्षक युनी इम्रीले वेलबेकको चोट निकै गम्भीर चोट रहेको बताएका छन् ।
'उनी अहिले अस्पतालमा छन् । थप समचार हामी पर्खिरहेका छौं,' प्रशिक्षक इम्रीले भने, 'तर, हामीले सोच्न सक्छौं । उनको इन्जुरी निकै गम्भीर छ ।'
इंग्ल्यान्डका २७ बर्षिय वेलबेक हेड गर्ने क्रममा घाइते भएका हुन् । हेडपछि ल्यान्डिङ नमिल्दा उनले एन्कलको चोट बोकेका हुन् ।