काठमाडौं । जापानमा आयोजना हुने ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।
म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा जारी खेल पहिलो हाफ सकिदा नेपाल र भारतले १ - १ गोलको बराबरी खेलेका छन् ।
सुरुवाती अग्रता बनाए पनि जोगाउन नसक्दा नेपालले पहिलो हाफमा भारतसंग बराबरी खेलेको हो । खेलको ११ औं मिनेटमा नेपालले निरु थापाको गोलबाट अग्रता बनाएको थियो ।
तर, खेलको ३७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भारतले बराबरी गोल फर्काएको थियो । भारतका लागि कमला देवीले गोल गर्दै भारतलाई खेलमा फर्काएकी हुन् ।
नेपाल भारतविरुद्ध ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।
छनोटको समूह 'सी' मा रहेको नेपालले भारतपछि कार्तिक २५ गते घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् ।
प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।