एजेन्सी । युईएफए युरोपा लिग फुटबल अन्तर्गत आज (बिहिबार) राति विभिन्न समूहको २४ खेलहरु संचालन हुँदैछ ।
बिहिबार राति युरोपा लिग खेल्ने १२ समूहको दुई दुई खेल संचालन हुनेछ । जसमा युरोपका ठुला क्लबहरु चेल्सी, आर्सनल, एसी मिलान, भिया रियल, सेल्टिक र सेभिया लगायतका क्लबहरुको खेल हुनेछ ।
इंग्लिश क्लब चेल्सीले समूह चरणको चौथो खेलमा बाटे बोरिसोभसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह 'एल' को चेल्सी र बोरीसोभबीचको खेल नेपाली समय अनुसार राति ११:४० मा सुरु हुनेछ ।
बोरीसोभविरुद्ध आज जित निकाल्दै चेल्सी नकआउट चरणमा पुग्न चाहन्छ । समूह चरणमा अपराजित चेल्सीले ३ खेलबाट ९ अंक जोडेको छ । बोरीसोभ ३ अंक जोडेर समूहको पुछारमा छ ।
युरोपा लिग अन्तर्गत नै अर्को इंग्लिश क्लब आर्सनलले स्पोर्टिङ सिपीविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुईबीचको खेल राति १ : ४५ मा सुरु हुनेछ ।
आर्सनल घरेलु मैदानमा जित निकाल्दै दोस्रो चरणको ढोका खोल्न चाहन्छ । समूह 'इ' मा आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ ।
स्पोर्टिङ सिपी ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । आज आर्सनललाई उसैको मैदानमा हराएर स्पोर्टिङ नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
यस्तै इटालियन क्लब एसी मिलानले रियल बेटिससंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह 'एफ' मा रियल बेटिस ७ अंक जोडेर शीर्ष स्थानमा छ । ६ अंक जोडेर मिलान दोस्रो स्थानमा छ ।
त्यस्तै अन्य खेलमा सेभियाले अखिसार्स्पोर, भिया रियलले र्यापिड विन र सेल्टिकले आरबि लिपजीङसंग प्रतिस्पर्धा गर्नेछन् ।