एजेन्सी । यूएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलमा सिटीले युक्रेनी क्लब शख्तर डोनट्स्कलाई ६ - ० ले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्रबियल जिससले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, रहिम स्ट्रर्लिङ र रियाद महारेजले एक एक गोल गरे । च्याम्पियन्स लिगमा सिटीले पहिलो पटक फराकिलो जित निकालेको हो ।
इतिहाद स्टेडियममा एकतर्फी खेल खेलेको सिटीले खेलको १३ औं सिल्भाको गोलबाट अग्रता बनाएको थियो । खेलको २४ औं मिनेटमा जिससले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता २ - ० को बनाए ।
दोस्रो हाफमा सिटीले थप चार गोल गर्यो । खेलको ४९ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता ३ - ० को बनाए । ७२ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ४ - ० मा पुग्यो ।
८४ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५ - ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा जिससले ह्याट्रिक पुरा गर्दै सिटीलाई ६ - ० को फराकिलो जित दिलाए ।
जितसंगै समूह 'एफ' को शीर्ष स्थानमा रहेको सिटीले ४ खेलबाट ९ अंक जोडेको छ । तर, सिटीले नकआउट चरणमा स्थान भने बनाउन सकेन । सिटीले अर्को खेल कुर्नुपर्ने भएको छ ।
यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लियोन र जर्मन होफेनहाईमले २ - २ को बराबरी खेलेपछि सिटीको नकआउट चरण यात्रा अर्को खेलसम्म लम्बिएको हो ।
लियोन ६ अंक जोडेर दोस्रो र होफेनहाईम ३ अंक जोडेर तेस्रो स्थानमा छ । सिटीसंग फराकिलो पराजय व्यहोरेको डोनट्स्क २ अंक जोडेर पुछारमा छ ।