काठमाडौं । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेलमा नेपाल कठिन समूहमा परेको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले बुधबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल कठिन समूहमा परेको हो । नेपालको समूह समूह 'ए' मा बलियो टोलीहरु कतार, ओमान र अफगानिस्तानसंग खेल्नेछ ।
कतारमा हुने छनोट आगामी मार्च २२ देखि २६ सम्म हुनेछ । नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा खेल्नेछ । यस्तै मार्च २४ मा कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।
च्याम्पियनसिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् । जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनसिपमा १६ टोलीको सहभागिता रहनेछ ।
नेपालले अहिलेसम्म एएफसी यू-२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो चरणबताई घर फर्कदै आएको छ । यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ ।