काठमाडौं । जापानमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलका लागि म्यानमारमा हुने एसियन छनोटको पहिलो खेलमा नेपालले (भोलि) बिहिबार भारतको सामना गर्दैछ ।
म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा नेपाल दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउसो २:१५ मा सुरु हुनेछ ।
चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि म्यानमार पुगेको नेपाली टोली भारतविरुद्ध ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछ । चीनमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा दुई खेलमा हार र एक जित निकालेको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले टोलीको लक्ष्य भारतविरुद्ध ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
'हामीले तयारी राम्रो गरेका छौं । हामीले चीनमा तीन खेल खेलेर यहाँ आएका हौं,' प्रशिक्षक खड्काले प्रि म्याच कन्फरेन्समा भने, 'हाम्रो सबै ठिक छ । हामी ३ अंकबाट प्रतियोगिताको सुरुवात गर्नेछौ ।'
यस्तै प्रशिक्षक खड्काले नेपाली टोलीले तयारी राम्रो गरेको कारण दोस्रो चरणमा पुग्ने बताए ।
'हाम्रो लागि भोलिको खेलमा निकै महत्वपूर्ण छ । भारत एसियाको पावर हाउस टोली हो । म्यानमार हामीभन्दा धेरै माथिल्लो वरीयताको राष्ट्र हो । बंगलादेशले पनि राम्रो गरिरहेको छ,' प्रशिक्षक खड्काले थपे, 'तर, हामी हाम्रो उत्कृष्ट खेल दिनेछौं । हामी दोस्रो चरणमा छनोट हुन चाहन्छौं ।'
छनोटको समूह 'सी' मा रहेको नेपालले भारतपछि कार्तिक २५ गते घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् ।
प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
नेपाली टिम :
गोलकिपर : एन्जिला तुम्बोप्पो सुब्बा, अन्जना राना मगर , रुपा राना मगर,
डिफेन्डर : गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, कबिता धिमाल, पुनम मगर
मिडफिल्डर : रेनुका नगरकोटी, दिपा राई, मन्जली येञ्जन, सरु लिम्बु , विमला चौधरी, अनिता वस्नेत, दिपा न्यौपाने
स्ट्राइकर : अनिता केसी, सावित्रा भण्डारी, निरु थापा,
मुख्य प्रशिक्षक : हरि खड्का
प्रशिक्षक : मृगेन्द्र मिश्र
टिम म्यानेजर : कमला हरिचन थकाली