एजेन्सी । विश्व फुटबलमा डिफेन्डरहरूको काम आफ्नो गोल पोष्टमा विपक्षीलाई रोक्नु र गोल हुनबाट जोगाउनु मानिन्छ । त्यसैले फुटबलमा डिफेन्डरहरुले गोल गर्न अवसर कमै पाउने गर्छन् ।
तर, आधुनिक फुटबलमा डिफेन्डरहरुले समेत गोल गर्ने गरेका छन् । कतिपय क्लबका डिफेन्डरले फरवार्डले भन्दा बढी गोल गरेको इतिहास पाइन्छ ।
अहिले युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगका समूह चरणका खेलहरु जारी छ । यस्तोमा च्याम्पियन्स लिगमा पनि धेरै डिफेन्डरहरुले गोल गरेका छन् । कतिपय क्लबका डिफेन्डरहरुले निर्णायक गोल नै गरेको इतिहास छ ।
च्याम्पियन्स लिगमा गोल गर्ने डिफेन्डरहरु मध्ये सर्वाधिक गोल गर्ने पाँच डिफेन्डरहरुको इतिहास कस्तो छ ?
च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने पाँच डिफेन्डरहरुको सूची हेर्नुहोस्-
५. सर्जियो रामोस
खेल : ११४
गोल : ११
स्पेनिस क्लब रियल मड्रिडका कप्तान रामोस च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्नेको पाँचौ स्थानमा पर्छन । रामोसले हालसम्म ११ गोल गरेका छन् ।
सेन्टर ब्याक रामोसले च्याम्पियन्स लिगको प्रत्येक १० खेलमा १ गोल गरेका छन् । रामोसले गरेका गोलमध्ये सबै भन्दा उत्कृष्ट गोल सन् २०१४ को च्याम्पियन्स लिग फाइनल खेलमा एट्लेटिको मड्रिडविरुद्ध गरेका थिए ।
उक्त फाइनलमा १–० गोल अन्तरले पछि परेको रियललाई रामोसले गोल गर्दै खेलमा फर्काएका थिए । त्यसपछि रियलले अतिरिक्त समयमा गोल गर्दै च्याम्पियन्स लिग उपाधि उचालेको थियो ।
४. ड्यानी अल्भेस
खेल : १११
गोल : १२
ब्राजिलियन डिफेन्डर अल्भेस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का डिफेन्डर हुन् । तर, उनी फरवार्डका रुपमा चर्चित छन् ।
त्यसैले अल्भेसले १११ खेलमा १२ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा छन् ।
राइट ब्याक ३५ बर्षिय अहिले करियरको अन्त्यतिर छन् । तर, उनी हरेक खेलमा बिपक्षको अघि बलिया देखिन्छन् । प्राय उनले खेलेको खेलमा गोल गर्ने गर्छन् । उनले गत सिजन दुई गोल गरेका थिए ।
३. जेरार्ड पिके
खेल : १००
गोल : १२
स्पेनिस डिफेन्डर जेरार्ड पिके पनि च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डरमा पर्छन् ।
बार्सिलोनाबाट खेल्ने पिकेले हालसम्म १२ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा पिके उत्कृष्ट हेडरको रुपमा पनि चिनिन्छन् । उनले गरेका गोलहरु मध्ये हेडिङ गोल धेरै छन् ।
बार्सिलोनामा निकै जमेर बसेका ३१ बर्षे पिकेले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डर बन्ने सम्भावना रहेको छ । उनले मात्र एक सय खेलमा १२ गोल गर्दै आफुलाई प्रमाणित गरिसकेका छन् ।
२. इभान हेल्गुएरा
खेल : ८७
गोल :१५
रियल मड्रिडका पुर्व स्पेनिस डिफेन्डर हेल्गुएरा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा पर्छन् ।
सन् २००८ बाटै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिईसकेका डिफेन्डर हेल्गुएराले ८७ खेलमै १५ गोल गरेर दोस्रो स्थान कब्जा जमाएका हुन् । उनले १० वर्षे रियल बसाईमा उक्त सफलता हात पारेका हुन् ।
भ्यालेन्सियाबाट करियरको अन्त्य गरेका उनले हरेक ६ खेलमा एक गोल गरेका थिए ।
१. रोबेर्टो कार्लोस
खेल : १२१
गोल : १६
ब्राजिलियन पुर्व स्टार रोबेर्टो कार्लोस च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डर हुन् । कार्लोस विश्व फुटबलको इतिहासमा सर्वाधिक चर्चित डिफेन्डर मानिन्छन् ।
कार्लोस डिफेन्ससंगै अट्याकिङ फुटबल खेलाडीको रुपमा चिनिन्छ । कार्लोसले च्याम्पियन्स लिगमा रियल मड्रिडबाट १०० खेल खेलेका थिए । उनको लङ रेन्ज र उत्कृष्ट फ्रि–किक गोल चर्चित छन् ।
४५ बर्षीय कार्लोसले च्याम्पियन्स लिगमा १६ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् । कार्लोस पछिल्लो १० बर्षयता सर्वाधिक गोल गर्ने डिफेन्डरको पहिलो नम्बरमा छन् ।