एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसंग २ - ० ले पराजित भएको हो ।
घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन मिलान पाभकोभले दुई गोल गरे । पहिलो हाफमा बेलग्रेडका पाभकोभ नायक बनेपछि लिभरपुलले हार व्यहोरेको हो ।
पहिलो हाफको २२ औं मिनेटमा पाभकोभले गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २९ औं मिनेटमा पाभकोभले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बेलग्रेड २ - ० ले अघि रह्यो ।
दोस्रो हाफमा लिभरपुल खेलमा फर्कन सकेन र बेलग्रेडसंग २ - ० ले स्तब्ध बन्यो । बल पोजिसनमा पकड जमाएको लिभरपुलले पाएको मौका सदुपयोग गर्न सकेनन् । उसले बेलग्रेडको पोष्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो ।
हारसंगै समूह 'सी' को लिभरपुल लिगको दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ४ खेलबाट ६ अंक जोडेको छ । लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । बेलग्रेड ४ खेलबाट ४ अनक जोडेर पुछारमा छ ।
यस समूहको शीर्ष स्थानमा इटालियन क्लब नेपोली रहेको छ । नेपोलीको पनि ६ अंक छ । तर, गोल अन्तरमा अघि रहेको छ ।
नेपोलीले मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) संग १ - १ गोलको बराबरी खेलेका थिए ।
लोरेन्जोले एक गोल फर्काएका थिए । खेलमा जुवान बर्नाटले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा नेपोलीका लोरेन्जोले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरी बनाएका थिए ।
यस समूहमा ४ खेलबाट ५ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ ।