काठमाडौं । आयोजक नवलपरासी ११ लाई पराजित गर्दै विरगन्ज युथ एकेडेमी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवलपरासीमा मंगलबार भएको दोस्रो क्वार्टरफाईनल खेलमा आयोजक नवलपरासी, विरगन्जसँग ३–२ गोल अन्तरले पराजित भयो ।
विरगन्जको जितमा विदेशी खेलाडी केभिनले दुई गोल गरे । खेलको ८ औ मिनेटमै केभिनको गोलबाट विरगञ्जले खेलमा अग्रता बनायो । खेलको १२ औ मिनेटमा आत्मघाती गोलमार्फत आयोजक नवलपरासी खेलमा फर्किएको थियो ।
तर खेलको २५ औ मिनेटमा विरगंजका चतुर्धन चौधरीले टोलीका लागि दोस्रो गोल गरे । ३५ औ मिनेटमा विदेशी खेलाडी केभिनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जितमा नजिक लगेका थिए । नवलपरासीका लागि ४६ मिनेटमा सबि गुरुङले टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त बन्न सकेन ।
खेलको म्यान अफ दि म्याच आयोजकका सुलभ मास्के चुनिए । विरगन्ज युथ एकेडेमीले फाइनल प्रवेशका लागि ए डिभिजन टोली नेपाल पुलिसको सामना गर्नेछ । पुलिस यसअघिनै सेमिफाइनल पुगिसकेको छ ।
तिहारलाई ध्यानमा राखेर प्रतियोगिताको बाँकी खेल स्थगित गरिएको आयोजक प्रचार प्रचार समितिका संयायेजक विष्णु अधिकारीले खेलपाटीलाई बताए । प्रतियोगिताको तेस्रो क्वार्टरफाईनलमा २५ गते न्यूरोड टिम एनआरटी र च्यासल युथ क्लबबीच हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।