एजेन्सी । इंग्ल्यान्डले पाहुना टोली अष्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा कब्जा जमाएको छ । मंगलबार राति भएको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियामाथि २४२ रनको फराकिलो जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।
नटिङघमा इंग्ल्यान्डले दिएको ४८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ३७ ओभरमा अलआउट हुँदै २३९ रनमा समेटियो । यो जितसँगै इंग्ल्यान्डले सिरिजमा दुई खेल बाँकी रहदै ३ – ० ले जितेको हो । यसअघि पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ३८ रनले विजयी भएको थियो ।
इंग्ल्यान्डले दिएको किर्तिमानी लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाका टार्भिस हेडले ५१ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै अष्ट्रेलियाका लागि मार्कुस स्टिनिसले ४४, एश्टोन अगरले २५, शौन मार्शले २४ र आरोन फिन्चले २० रन जोडे । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील रशिदले ४ विकेट लिए । यस्तै मोइन अलीले ३ तथा डेभिड विलीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ४८१ रनको किर्तिमानी लक्ष्य तयार गरेको थियो । इंग्ल्यान्डले बनाएको यो लक्ष्य वन डे क्रिकेटमा अहिलेसम्मकै उच्च हो ।
इंग्ल्यान्डले आफ्नै नाममा रहेको किर्तिमानलाई सुधार गर्दै नयाँ किर्तिमान बनाएको हो । यसअघि सन् २०१६ मा पाकिस्तानविरुद्धको खेलमा इंग्ल्यान्डले ३ विकेटको क्षतिमा ४४४ रन बनाएर रेकर्ड कायम गरेको थियो ।
इंग्ल्यान्डको किर्तिमानी रनमा ब्याट्सम्यान एलेक्स हेल्स र जोनी वेरस्टोले शतकीय पारी खेलेका थिए । हेल्सले १४७ रन बनाएको इनिङ्समा वेरस्टोले १३९ रनको योगदान दिएका थिए । ९२ बलको सामना गरेका दुवैले सो रन बनाउन १६ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै जासन रोयले ८२ रन बनाएको इनिङ्समा कप्तान इयान मोर्गानले कम बलमै सबै भन्दा छिटो अर्धशतक बनाउने रेकर्ड कायम गरे । उनले ३० चौकाको मदतले ६७ रन बनाएका थिए । अष्ट्रेलियाका जे रिचार्डसनले ३ विकेट लिए ।