काठमाडौं । चौथो संस्करणको यू–१५ साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३ - २ ले हराएर बंगलादेश च्याम्पियन बनेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेट र अतिरिक्त समय १ - १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बंगलादेशले बाजी मार्दै उपाधि माथि कब्जा जमायो ।
खेलमा सुरुवाती अग्रता बंगलादेशले बनाएको थियो । खेलको २७ औं मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो ।
तर, खेलको ५४ औं मिनेटमा पाकिस्तानले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पाकिस्तानका मोहिब उल्लाहले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए । तर, पेनाल्टी सुटआउटमा चुक्दा पाकिस्तान उपविजेतामा सिमित बन्न पुग्यो ।
प्रतियोगितामा भारतले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानको लागि भएको खेलमा भारतले नेपाललाई १ - ० ले हरायो ।
प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै ४ गोल गर्दै बंगलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बंगलादेशले फेयर प्ले टिमको अवार्ड समेत हात परेको छ ।