काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा रेड आर्मी क्लबलाई १ - ० ले हराएर मनाङले उपाधि जितेको हो ।
सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
मनाङले सेमिफाइनलमा भारतको आईएसएल क्लबको रिजर्भ टिम एट्लेटिको डी कोलकातालाई ६ - २ ले हराएर फाइनल यात्रा तय गरेको थियो । त्यसअघि बाई पाएर सिधै क्वाटरफाइनल खेलेको मनाङले क्वाटरफाइनलमा कलकता कस्टमलाई पराजित गरेको थियो ।
उपाधिसंगै मनाङले २ लाख भारतीय रुपैया पाएको छ । उपविजेता रेड आर्मीले १ लाख पाएको छ । नेपालको अर्को क्लब एपीएफ भने पहिलो खेलमै पराजित भएको थियो ।